काठमाडौँ। निजी क्षेत्रले 'जेन–जी' आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको बताएको छ । निजी क्षेत्र आबद्ध संस्थाहरूले 'जेन–जी' पुस्ताले सुधारका माग राखी देशभर सञ्चालन गरेको प्रदर्शनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएका हुन् । अब नयाँ शिराबाट अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले विज्ञप्ति निकालेर युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन जरुरी रहेको जनाएको छ । देशमा थप निराशा र अशान्तिको वातावरण कहीँ कतैबाट पनि सिर्जना हुन नहुने भन्दै महासङ्घले शान्तिपूर्ण आन्दोलनका क्रममा अनावश्यक बल प्रयोग भएकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नयाँ कोर्सका लागि 'जेन–जी' पुस्ताले गरेको योगदान र यसबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाजको सिर्जना गरिनुपर्ने बताए। उनका अनुसार अब सही मान्छेहरूको चयन गर्दै देशमा नेतृत्वका लागि अगाडि बढाउनुपर्छ ।
होटल सङ्घ नेपालले विज्ञप्ति निकालेर युवाहरूको बलिदानबाट शुरू भएको नयाँ भविष्य सफल बनाउन संवाद तथा वार्तासहितका सबै प्रयासलाई परिणाममुखी बनाउन आग्रह गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विज्ञप्ति निकालेर संवैधानिक निकाय तथा राज्यका सीमित व्यक्तिकै स्वार्थमा निहीत रहेर भ्रष्टाचार, कुशासन, भ्रष्ट नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको ठहर गर्दै उपलब्ध प्राप्तिको संस्थागत गर्न भनेको छ । युवाहरूमाथि भएको दमनको स्वतन्त्र र निष्पक्ष समितिमार्फत छानबिन गर्नुपर्ने इप्पानको माग छ ।


