भदौ १० गते आएको बाढीले नुवाकोटको देवीघाटस्थित शाखामा क्षति पुर्याएपछि बैंकले मंगलबारदेखि बट्टारबाट सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेका छन्।
उनले देवीघाट शाखा पूर्णरूपमा क्षति भएपछि ग्राहकलाई निरन्तर सेवा दिन बट्टारमा शाखा सारिएको बताए। बैंकले ग्राहकलाई थप प्रभावकारी सेवा दिने प्रतिबद्धता पनि जनाएको छ। बाढीले देवीघाट शाखाको भौतिक संरचनामा ठूलो क्षति पुर्याए पनि त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहन सफल भएका थिए।
यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। शिविरमा मुखको क्यान्सर, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षणलगायत स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ। बाढीबाट बैंकको भौतिक संरचनामा क्षति पुगे पनि शाखा स्थानान्तरणमार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउने प्रयास गरिएको हो।


