काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार भूमिपूजा गरेका छन्।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवन १२ तलाको हुनेछ। बैंकले यसलाई केन्द्रीय प्रशासनिक कामकाजमा मात्र सीमित नराखी संस्थागत क्षमता विस्तार र वित्तीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने पूर्वाधारका रूपमा विकास गर्न लागेको जनाएको छ।
नयाँ भवनलाई आधुनिक इन्जिनियरिङ प्रविधि र वातावरणीय दिगोपनलाई ध्यानमा राखेर निर्माण गरिने बैंकका अध्यक्ष ढकालले बताएका छन्। उनका अनुसार भवन निर्माणका क्रममा जमिनको स्थिरता र आसपासका संरचनाको सुरक्षाका लागि ‘सेक्यान्ट पाइलिङ’ प्रविधि अपनाइनेछ।
त्यस्तै, भवनलाई ऊर्जा दक्ष र वातावरणमैत्री बनाउन वर्षाको पानी संकलन तथा पुनःप्रयोग गर्ने प्रणाली र सौर्य ऊर्जा जडान गरिनेछ। सेवाग्राही तथा कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनमा दुई तहको भूमिगत पार्किङसमेत निर्माण गरिनेछ।
अध्यक्ष ढकालले नयाँ भवनले बैंकको संस्थागत स्थायित्व र आगामी व्यावसायिक योजनालाई प्रतिबिम्बित गर्ने बताएका छन्। आधुनिक पूर्वाधारबाट वित्तीय सेवालाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
मुलुकका ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गरेको बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानसमेत प्राप्त गरेको जनाएको छ। बैंकको विस्तार र प्रगतिमा ग्राहक, शेयरधनी, नियामक निकाय तथा कर्मचारीको योगदान रहेको उल्लेख गर्दै ढकालले सबैप्रति आभार व्यक्त गरे। उनले नयाँ कर्पोरेट भवनले बैंकको सेवा विस्तारसँगै मुलुकको समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरे।


