कोरला नाकाबाट बढ्न थाल्यो आयात

कोरला नाकाबाट बढ्न थाल्यो आयात

एक सातामा ३५ कन्टेनर भित्रिएपनि जाँचपासमा समस्या

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • images

    काठमाडौं । रसुवा र तातोपानी नाका बन्द भएपछि विकल्यको रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट आयात बढ्न थालेको छ । 

    सञ्चालनमा आएको एक सातामा सो नाकाबाट ३५ वटा कन्टेनर भित्रिएको कोरोला भन्सार कार्यालयले जनाएको छ । 

    सो नाकाबाट करिब एक सय वटा इभी आयात भएको कार्यालयका नायब सुब्बा गजेन्द्र थापाले जानकारी दिए । तर कार्यालयले सामानको भन्सार पास भने गरेको छैन । ‘हामी तयारी अवस्थामा भएपनि व्यवसायीले समयमै आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा जाँचपासमा केही ढिलाइ भएको हो’ उनले भने, ‘इन्टरनेट नचल्दा पनि समस्या भएको छ ।’ 

    व्यवसायीले कोरला नाकाबाट भदौ २३ गतेबाट सामान भित्र्याउन थालेपनि अहिलेसम्म जाँचपास भने भएको छैन । 
    गत असार अन्तिम साता आएको बाढीका कारण रसुवा नाका बन्द रहेको छ । यस्तै सिन्धापाल्चोकको तातोपानी नाका पनि नियमित सञ्चालन हुन सकेको छैन । 

    भन्सार भन्दा केही तल सडक भासिने गरी आएको पहिरो पन्छाउन नसक्दा तीन महिना यतासो सडक नियमित रुपमा सञ्चालन हुन सकेको छैन । चीन तर्फका दुवै नाका बन्द भएपछि दसैंका लागि लक्षित गरी व्यवसायीले ल्याउन लागेका फलफूल तथा लत्ता कपडा र विद्युतीय सामग्री चीनतर्फ नै रोकिएका छन् । 

    लामो समय चीनतर्फ नै कन्टेनर राख्नु परेपछि केही व्यवसायीले महंगो ढुवानी भाडा तिरेर भारतको कोलकत्ता बन्दरगाह हुँदै केही सामान नेपाल ल्याएपनि अधिकांशको सामान चीनमै अड्किएको थियो । 

    कोरला नाका सञ्चालनमा आएपछि बिस्तारै सामान आउन थालेको छ । तर नेपालतर्फ सडक साँघुरो भएकाले मध्यम खालका कन्टेरले मात्र सामान ढुवानी गर्ने बताइएको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend