काठमाडौं। जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, हालको बजेटभित्र परेका योजना तथा कार्यक्रममध्ये केही कटौती गरेर स्रोत व्यवस्थापन गर्ने विषयमा आन्तरिक अध्ययन गर्न टोली बनाइएको हो।सोमबार पदभार ग्रहण गरेपछि नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक प्रभावमा समावेश गरिएका, पूर्वतयारी पूरा नभएका वा टुक्राटाक्री योजनाहरूलाई कटौती गरिने स्पष्ट पारेका थिए।
पूरक बजेट नल्याई विद्यमान बजेटकै पुनरावलोकनमार्फत करिब एक खर्ब बराबरको स्रोत जुटाएर निर्वाचन र पुनर्निर्माणमा प्रयोग गर्ने सरकारको योजना रहेको मन्त्री खनालले बताएका थिए।


