काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले करको दुरुपयोग घटाउन तथा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौतीको लागि सूची बनाउन थालेको छ । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न पत्राचार गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रालयलाई खर्च कटौती गर्न सकिने शीर्षकहरुको सूची बनाउन निर्देशन दिएका हुन् ।
बुधबार मुख्यमन्त्री शाहको सरकारी निवासमा भएको सबै मन्त्रालयका मन्त्री र सचिवहरुको बैठकमा उनले आर्थिक मन्त्रालयलाई खर्च कटौतीको सूचीसहितको मन्त्रिपरिषद्मा पेश गर्ने प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए । उक्त बैठकबाट प्रदेशको खर्च कटौती गर्ने विषयमा सहमती भएपछि मुख्यमन्त्री शाहले आर्थिक मन्त्रालयलाई सो निर्देशन दिएको उनको सचिवालयले जनाएको हो।
मुख्यमन्त्रीको निर्देशन तथा बैठकको निर्णय बमोजिम आर्थिक मन्त्रालयले खर्च कटौती गर्न सकिने शीर्षकहरुको सूचीसहितको प्रस्ताव तयार गर्न थालेको छ ।
अर्थ मन्त्रालयले मंगलबार प्रदेश सरकारलाई पुनर्निमाण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुर्नप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा पत्र पठाएको थियो । सोही बमोजिम सुदूरपश्चिम प्रदेश सरकारले पनि खर्च कटौती गर्नका लागि आवश्यक निर्णय गर्न सूची तयार गर्न लगाइएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।


