काठमाडौं । भारतको इतिहासमा कर छली सम्बन्धी एउटा अनौठो घटना घटेको छ। सन् २०२३ को डिसेम्बरमा भारतको ओडिसामा सबैभन्दा ठूलो आयकर छापा मारिएको थियो ।
भारतको एक प्रसिद्ध रक्सी निर्माण कम्पनी बौध डिस्टिलरिज प्रालिमाथि केन्द्रित उक्त छापा १० दिनसम्म चलेको थियो । जसमा भारत सरकारले ठूलो जनशक्ति र आधुनिक उपकरणको प्रयोग गरेको थियो।
अचम्मको कुरा त के छ भने उक्त छापामा जम्मा भएको नगद रकम यति ठूलो थियो कि गन्नका लागि ३६ वटा नोट गन्ने मेसिन प्रयोग गर्नुपर्यो । विभिन्न बैंकका कर्मचारीहरूलाई समेत नगद गन्ने कार्यमा सहयोगका लागि बोलाइएको थियो ।
भारतको आयकर विभागले भूमिगत लुकाइएका सम्पत्ति पत्ता लगाउन ‘स्क्यानिङ ह्वील’ मेसिन समेत प्रयोग गरेको थियो। कडाइका साथ गरिएको यो अपरेसनपछि करिब ३ अर्ब ५२ करोड भारतीय रुपैयाँ बरामद गरिएको थियो, जसलाई सुरक्षित तरिकाले ट्रकमा लोड गरी विभागको कार्यालयसम्म पुर्याइएको थियो।
यो ऐतिहासिक छापा आयकर विभागको अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन मानिएको छ। यसमा संलग्न अधिकारीहरूलाई केन्द्रीय सरकारले सम्मानित समेत गरेको थियो। सम्मानित हुनेहरूमा आयकर अनुसन्धानका प्रमुख निर्देशक एसके झा र निर्देशक गुरप्रीत सिंह रहेका छन्।
भारतको उक्त घटनाले तत्कालीन समयमा सनसनी नै मचाएको थियो। यति ठूलो रकम नगद लुकाएर राख्नु चानचुने कुरा थिएन।
यस घटनाले कर छली गर्न केही कम्पनी तथा मानिसहरू कुन हदसम्म जान सक्दा रहेछन् भन्ने कुरा उजागार गरेको छ ।


