वीरगञ्ज (पर्सा)। पर्सा जिल्लामा पछिल्लो समय विभिन्न व्यापारिक प्रतिष्ठानका नक्कली बिलबिजक बनाएर सामान खरिद गर्ने ठगीका घटना बढेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार केही दिनयता सामाजिक सञ्जालमार्फत प्रतिष्ठित व्यापारिक संस्थाहरूका बिलबिजक नक्कली बनाइ तीमार्फत सिमेन्ट, छड, मदिरा, मोटर पार्ट्सजस्ता सामान खरिद गरी ठगी गर्ने प्रवृत्ति देखिएको छ।
बस्नेतले यस्तो ठगीबाट बच्नका लागि व्यापारिक कारोबार गर्दा सामान खरिदकर्ताको आधिकारिकता पुष्टि गरी मात्र कारोबार गर्न आग्रह गरे। उनले भने, “नक्कली बिलबिजक प्रयोग गरी ठगी गर्ने गतिविधि बढ्दै गएकाले व्यवसायीहरूले अत्यन्त सावधानी अपनाउन जरुरी छ। आधिकारिकता नपुगेका व्यक्तिसँग कुनै पनि सामान खरिद–बिक्री नगर्नुहोस्, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।”
यस्तै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पनि व्यापारीहरूलाई सचेत रहन आग्रह गरेको छ। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले पछिल्ला दिनमा नक्कली बिलबिजक प्रयोग गरी सिमेन्ट, छड, मदिरा र मोटर पार्ट्स खरिद गरेर ठगी गर्ने घटना बढेको बताउँदै व्यवसायीहरूले खरिदकर्ताको पहिचान र आधिकारिकता सुनिश्चित गरी मात्र कारोबार गर्न सुझाव दिए।
गौतमले थपे, “प्रतिष्ठित उद्योग वा व्यापारिक घरानाको नाम प्रयोग गरेर आउने व्यक्तिहरूसँग एकिन नगरिकन कारोबार गर्दा ठगीमा पर्ने जोखिम बढ्छ, त्यसैले सबै व्यवसायीले सतर्कता अपनाउनु आवश्यक छ।”


