म्याग्दी। मुस्ताङस्थित कोरलानाका हुँदै पवित्र तीर्थस्थल कैलाश–मानसरोवरसम्म पुग्ने धार्मिक तथा पर्यटकीय मार्ग खोल्ने तयारी सुरु भएको छ। यसका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरूको टोली चीनको ढोङ्वासेन पुगेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार गृह मन्त्रालय र अध्यागमन विभागको समन्वयमा दुई स्थानीय तहका जनप्रतिनिधिहरू तिब्बती अधिकारीहरूसँग छलफलका लागि गएको हो। टोलीमा लोमान्थाङकी उपाध्यक्ष छ्युमी विष्ट, लोघेकर दामोदरकुण्डकी उपाध्यक्ष छिरिङ ल्होमो गुरुङसहित १३ जना प्रतिनिधि सहभागी छन्। भ्रमण व्यक्तिगत खर्चमा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
“नेपाल–चीन सरकारबीच समन्वय गरेर कोरला हुँदै कैलाश–मानसरोवर पुग्ने धार्मिक मार्गको सम्भाव्यता अध्ययनका लागि गएको हौँ,” गुरुङले भने, “यो पहल सफल भएमा गण्डकी प्रदेश मात्र होइन, नेपालकै पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक विकासमा नयाँ आयाम थपिनेछ।”
उनका अनुसार कोरला नाकाबाट कैलाश–मानसरोवर करिब ३०० किलोमिटर र ल्हासा करिब १,००० किलोमिटर दूरीमा छ। यस मार्ग खुल्दा चीनका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी भ्रमणमा ल्याउन र नेपाली तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई कैलाश–मानसरोवर दर्शन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कोरला नाकाबाट मानसरोवर पुग्ने मार्ग छोटो, सहज र कम खर्चिलो हुने देखिन्छ। हाल भारतीय मार्ग हुँदै मानसरोवर पुग्न प्रत्येक धार्मिक पर्यटकले झण्डै दुई लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ। कोरला मार्ग खुलेपछि यो खर्च निकै घट्ने सम्भावना छ।
वि.सं. २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेलका लागि खुला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना गरिएको थियो। यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि नेपाल–चीनबीचको आयात–निर्यात पनि यही नाकाबाट भइरहेको छ।
पोखरा र काठमाडौँबाट हवाईमार्ग र सडकमार्ग दुवैबाट कोरला पुग्न सकिन्छ। काठमाडौँबाट २५ मिनेटमा पोखरा, त्यसपछि २५ मिनेटमा जोमसोम पुग्न सकिन्छ। जोमसोमबाट लोमान्थाङ हुँदै करिब साढे चार घण्टामा कोरला पुगिन्छ।
कोरला नाकाबाट चीनको नेचुङ–लिजी भन्सार पार गरेपछि करिब ५८ किलोमिटरमा सिगात्से प्रान्तको झोम्वासेन पुगिन्छ र त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश–मानसरोवर पुग्न सकिन्छ। तिब्बती क्षेत्रमा सडक सञ्जाल र सवारीसुविधा आधुनिक भएकाले यात्रा सहज हुने अध्यक्ष गुरुङले बताए।
हिन्दू धर्मअनुसार भगवान शिवको निवासस्थल मानिने कैलाश पर्वत समुद्र सतहबाट ६,६०३ मिटर उचाइमा अवस्थित छ। यसको परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने र मानसरोवरमा स्नान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
कोरला अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालका अनुसार यही कार्यालयबाट पहिलोपटक भिसा लिएर १३ जना जनप्रतिनिधिको टोली चीनतर्फ गएको हो। उनले थपे, “नेपाल प्रवेश गर्ने चिनियाँ तथा अन्य मुलुकका नागरिकलाई १५० दिनसम्मको ‘अन–अराइभल भिसा’ निःशुल्क दिने तयारी भइरहेको छ।”
तर, उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि सरकारले तोकेको ५०० अमेरिकी डलरको प्रवेश शुल्क चुनौतीका रूपमा रहेको बताइएको छ।


