वर्षा र चाडपर्वपछि मुग्लिन–मलेखु सडक स्तरोन्नति तीव्र

वर्षा र चाडपर्वपछि मुग्लिन–मलेखु सडक स्तरोन्नति तीव्र

ट्याक्स खबर
बुधवार, कार्तिक २६ २०८२
ट्याक्स खबर
बुधवार, कार्तिक २६ २०८२
  • images

    चितवन। वर्षा र चाडपर्वका कारण सुस्त बनेको मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम फेरि तीव्र गतिमा अघि बढ्न थालेको छ। असार महिनादेखि धीमा गतिमा चलिरहेको यो परियोजना अहिले पुनः सक्रिय बनेको हो।

    नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डका इन्जिनियर विजय दरैका अनुसार वर्षा रोकिएर चाडपर्व सकिएपछि अब कामलाई तीव्रता दिने चरणमा पुगेको हो। “हाल चार वटा पुलको पहुँच सडक निर्माण सुरु गरिएको छ,” दरैले बताए। उनका अनुसार पुल र सडकका विभिन्न भागमा बेरियर राख्ने र ढल (ड्रेन) निर्माणको काम पनि एकसाथ अघि बढाइएको छ।

    इन्जिनियर दरैका अनुसार आगामी दुई–तीन दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी छ। कुल ३८.८६ किलोमिटर सडकमध्ये हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ भने थप पाँच किलोमिटरमा अन्तिम तयारी भइरहेको छ।

    हाल चरौदी खोलाको पुलमा एउटा फाउण्डेसन हालिसकिएको र अर्को फाउण्डेसनको काम भइरहेको छ। त्यस्तै हुग्दी खोलाको पुलका दुवै फाउण्डेसन तयार भइसकेका छन्।

    समग्रमा ३५ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै दरैले भने, “सडकका केही खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन, सात दशमलव दुई किलोमिटर चार लेन र दुई दशमलव तीन किलोमिटर क्लाइम्बिङ लेन निर्माण हुनेछ।” उक्त चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौदी र विशालटार क्षेत्र हुँदै जानेछ भने बाँकी भाग दुई लेनको हुनेछ।

    वि.सं. २०७९ पुस १५ गतेबाट सुरु भएको यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का गरिएको थियो। पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मुग्लिन खण्डलाई तीन चरणमा बाँडेर टेन्डर गरिएकोमा यो तेस्रो चरणमा पर्छ। परियोजनाको म्याद आगामी पुस १५ गते सकिँदैछ र म्याद थपका लागि प्रक्रिया अघि बढिरहेको दरैले जनाए।

    शर्मा–जेडआइसिजी कम्पनीले रु. ४ अर्ब ८० करोड ५९ लाखमा यो सडक निर्माणको ठेक्का लिएको हो। हाल नाला, पहिरो रोकथामका संरचना, पर्खाल, सडक सुरक्षा र भित्तो काट्ने कामहरू बाँकी छन्।

    विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख नाकामध्ये एक हो। सवारीसाधनको उच्च चाप र निर्माण सामग्री पाउन कठिनाइका कारण केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend