नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै, २० बढी देशका ५०० बढी कर विज्ञ सहभागी हुने

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै, २० बढी देशका ५०० बढी कर विज्ञ सहभागी हुने

ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८२
ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८२
  • images

    काठमाडौँ । नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (एनसीटीसी)को आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कर सम्मेलन हुने भएको छ । आयोजक संस्थाका अनुसार कार्यक्रम एसिया ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए)को समन्वयमा सञ्चालन हुनलागेको हो। जसले एसिया र ओसियान क्षेत्रका २० भन्दा बढी देशका कर व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गरेको छ। 

    आगामी नोभेम्बर १८ देखि २१ सम्म द सोल्टी काठमाडौँमा आयोजना हुने सम्मेलनमा एसिया र ओसियान क्षेत्रका २० बढी देशका ५०० बढी कर विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा करिब ५५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।  जसमा ३५० जना अन्तर्राष्ट्रिय र २०० बढी नेपाली कर विज्ञ, नीति निर्माता, सरकारी अधिकारी, व्यवसायी तथा लगानीकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

    सम्मेलनको मुख्य उद्देश्य नेपाली कर व्यवसायीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नु, कर नीति तथा अनुपालनका अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यासबारे अनुभव साटासाट गर्नु र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवर्द्धनका माध्यमबाट अन्तर्राष्ट्रिय सहकार्य सुदृढ पार्नु रहेको छ। साथै, यस सम्मेलनले नेपाललाई 'माइस' (मीटीङ, ईन्सेन्टीभ, कन्फेरेन्स, एन्ड एग्जिब्युसन) गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएको छ।

    कार्यक्रमका विभिन्न सत्रहरूमा विकासशील देशहरूको कर प्रणालीको विकासक्रम, उदाउँदो अर्थतन्त्रहरूमा कर नीति कार्यान्वयनका चुनौती, कर अनुपालनमा व्यवसायीहरूको भूमिका, कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौती लगायतका विषयमा विस्तृत छलफल हुनेछ। त्यसैगरी, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरूको आचारसंहिता र व्यावसायिक दायित्वसम्बन्धी विषयमा पनि विशेष सत्र समावेश गरिएको छ।

    सम्मेलनको अन्तिम दिन नोभेम्बर २१ मा आन्तरिक राजस्व विभाग र एनसीटीसीको संयुक्त आयोजनामा “ट्रान्सफर एस्पेक्ट्स अफ ट्रान्सफर प्राइसिङ” शीर्षकमा विशेष सेमिनार हुनेछ। चार घण्टा चल्ने उक्त सेमिनार ग्लोबल ट्याक्स एड्भाइजर्स प्लेटफर्म र सीएफई ट्याक्स एड्भाइजर्स युरोपका अध्यक्ष प्रोफेसर पियरजियोर्जियो भालेंटेले सञ्चालन गर्नेछन्। उनीसँगै चार्टर्ड एकाउन्टेन्ट तथा कर विज्ञ, सीए. प्रविन राज काफ्लेले नेपालको ट्रान्सफर प्राइसिङ अभ्यास र त्यसका व्यावहारिक पक्षबारे प्रस्तुति दिनेछन्। यो सेमिनार दर्ता भएका सहभागीका लागि निःशुल्क हुनेछ, तर सिट सीमित रहने आयोजकले जनाएको छ।

    सन् १९९२ मा स्थापना भएको एओटीसीएले एसिया–ओसियान क्षेत्रका कर विज्ञ संघहरूबीच सहकार्य, व्यावसायिक उत्कृष्टता र नैतिक आचरण प्रवर्द्धन गर्दै आएको छ। उक्त संस्थाले प्रत्येक वर्ष फरक–फरक देशमा सम्मेलन आयोजना गरी कर सुधार, पारदर्शिता र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परम्परा कायम राख्दै आएको छ।

    आयोजक संस्था एनसीटीसी सन् २०१८ मा स्थापना भएको व्यावसायिक संघ हो। यसले कर नीति, अनुसन्धान, व्यवसायिक आचारसंहिता र सरकारी निकायहरूसँग नीतिगत संवादमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। एनसीटीसीका अनुसार, यो सम्मेलनले नेपालको कर प्रणालीको प्रगतिशील स्वरूप प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सम्बन्ध विस्तार गर्ने र नेपाललाई विश्व कर समुदायमा एक विश्वसनीय साझेदारका रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

    कार्यक्रम अन्तर्गत नोभेम्बर १९ र २० मा मुख्य सम्मेलन सत्रहरू हुनेछन्। नोभेम्बर २० मा गाला डिनर आयोजना गरिनेछ भने नोभेम्बर २१ मा आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा विशेष सेमिनार सम्पन्न हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend