मादी पुल निर्माणमा तीव्रता, ७२ प्रतिशत भौतिक प्रगति

मादी पुल निर्माणमा तीव्रता, ७२ प्रतिशत भौतिक प्रगति

ट्याक्स खबर
शुक्रवार, कार्तिक २८ २०८२
ट्याक्स खबर
शुक्रवार, कार्तिक २८ २०८२
  • images

    तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमै सबैभन्दा लामो आर्क ‘डिजाइन’को रुपमा निर्माण भइरहेको मादी पुलमा काम तीव्र गति ले भइरहेको छ । पर्यटकमैत्री र कलात्मक बनावटसँगै आधुनिक संरचनाको नमुना प्रस्तुत गर्ने उद्देश्यले पुललाई आर्क डिजाइनमा निर्माण गरिँदैछ।

    मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) आयोजना कार्यालयका अनुसार पुल निर्माणको हालसम्म ७२ प्रतिशत भौतिक प्रगति पूरा भएको छ। यातायात सहज बनाउन मात्र होइन, पर्यटक आकर्षित गर्न पनि पुललाई विशेष डिजाइनमा निर्माण गरिएको कार्यालयले जनाएको छ।

    व्यास नगरपालिका–४ र ५ जोड्ने गरी मादी नदीमाथि बन्दै गरेको यो चार लेनको पुलबारे परियोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिँदै भने, “सम्झौताअनुसार म्यादभित्र काम नसकिएपछि ११ महिना थपिएको छ। पछिल्लो पटक थपिएको समय–सीमाभित्र पुल सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको छ।”

    गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मको लागि म्याद थपिएको हो। “जेठ, असार, साउन र भदौ महिनामा वर्षाको कारण निर्माण रोकिएको थियो,” पाण्डेले भने, “दसैँपछि भने कामले पुनः तीव्रता लिएको छ।”

    निर्माणाधीन पुलमा छवटा स्पान रहनेछन्। ३१५ मिटर लम्बाइको यो आर्क डिजाइन पुल तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित २०७९ साउन २६ गते करिब १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

    हाल सञ्चालनमा रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुलदेखि करिब ५० मिटर टाढा नयाँ कलात्मक पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए। मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण भइसकेका छन् भने ४१.४५ किलोमिटर सडक कालोपत्र पूरा भइसकेको छ।

    पूर्वी खण्डको निर्माण कार्य २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु गरिएको हो। यो खण्डको ठेक्का चीनको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend