गण्डकी। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका दौरान तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालय सक्रिय बनेको छ। प्रहरीले सरकारी कार्यालय तथा व्यावसायिक प्रतिष्ठानसँगै निजी सम्पत्तिमा भएको क्षतिको भिडियो सार्वजनिक गर्दै ती घटनामा संलग्न देखिएका व्यक्तिहरूको नाम, ठेगाना, सम्पर्क नम्बरलगायत विवरण उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार, अपराधीसम्बन्धी सूचना दिने व्यक्ति वा संस्थाको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिनेछ। उनका अनुसार, “आन्दोलनका नाममा भएका आपराधिक गतिविधिका दोषी पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेका हौं। यसमा सबैको सहयोग आवश्यक छ।”
बस्नेतका अनुसार, जेनजी प्रदर्शनका क्रममा भएका विभिन्न आपराधिक घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पकउँदै थप अनुसन्धान अगाडि बढाइरहेको छ। “आन्दोलनका नाममा भएका लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ,” उनले भने, “किटानी जाहेरी तथा उजुरीका आधारमा हालसम्म ३८ जना पक्राउ परिसकेका छन्। उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।”
प्रहरीका अनुसार, प्रदर्शनका क्रममा लुटिएका केही हतियार पनि बरामद गरिएको छ। जेनजी प्रदर्शनका दिन पोखरास्थित धेरै सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो। कास्कीसहित गण्डकी प्रदेशभरि सरकारी तथा निजी क्षेत्रमा करिब पाँच अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। सातवटा जिल्लाका (कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा) १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचना क्षतिग्रस्त भएको तथ्यांक सार्वजनिक गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, प्रदेशभर ३६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी, ७ वटा तोडफोड र ३ वटा बेपत्ता भएका छन्। यस्तै १६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी तथा ३१ वटा तोडफोड भएको छ।
प्रदर्शनका क्रममा प्रदेशभर ३ जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ७० जनाभन्दा बढी घाइते भएका थिए।


