काडमाडौं। गत भदौमा भएको जेन्जी आन्दोलन पछि देशमा चुनावी सरकार बनेको छ। सरकारले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको अधिकार दिने भन्दै चर्को हल्ला भइरहेकै बेला लाखौं युवा शक्ति रोजगारीको लागि विदेश लागेका छन् । चुनावको मिति सम्म तय गरेको सरकारले कम्तिमा चुनावसम्म पनि युवा रोक्न नसकेको तथ्यांकले दखाएको छ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार श्रम स्वीकृती लिएर विदेश जानेको संख्या हरेक महिना बढ्दो क्रममा छ। विभागको तथ्यांक अनुसार जेन्जी आन्दोलन पछि १ लाख ३७ हजार भन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन्। यसरी विदेश जानेको संख्या कात्तिक महिनामा ७३ हजार ९४ जना रहेको छ। जसमा ६४ हजार ४९० पुरुष र ८ हजार ६०४ महिला छन् । यो संख्या गत असोजको तुलनामा साढे ८ हजारले बढी हो।
गत असोजमा ६४ हजार ६३४ जना रोजगारीका लागि विदेश गएका थिए । जसमा ५६ हजार ६२५ पुरुष र ८ हजार ९ जना महिला रहेका थिए।
तथ्यांक अनुसार साउदी अरब नेपालीको प्रमुख रोजगारदाता देश बनेको छ। कात्तिकमा साउदी अरबमा मात्रै १५ हजार ७६९ जना रोजगारीका लागि गएका छन् । त्यस्तै कतारमा १३ हजार ७३२, मलेसिया ९ हजार ८७२ जना गएका छन् । यसबाहेक रोमानिया कुवेत लगायतका देशमा जाने युवाको संख्या उल्लेख्य बढिरहेको छ। कम तलब, कडा श्रम वातावरण र उच्च जोखिमका कारण आलोचना हुँदै आएको खाडी क्षेत्रमा जानेहरूको संख्या अझै घट्न नसक्नु सरकारका लागि चुनौती बनेको छ।
विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार दिने विषयमा सरकार लगातार सक्रिय रहँदा पनि चुनाव सम्म युवालाई देशमै रोक्ने वास्तविक चुनौती समाधान हुन सकेको छैन। देशमै रहेका कामकाजी उमेरका युवालाई रोक्ने ठोस नीति त अझै स्पष्ट छैन।
जेनेजि आन्दोलनपछि बनेको चुनावी सरकारले परिवर्तनका एजेन्डा उठाए पनि त्यसले युवाको विश्वास जित्न सकेन; उल्टै आन्दोलनपछि झन्डै डेढ लाख युवाहरू वैदेशिक रोजगारीतर्फ लागेका तथ्यांक सार्वजनिक भएका छन्। चुनाव नजिकिँदै गर्दा पनि सरकारले युवाहरूलाई रोक्न नसक्नु देशको रोजगार–संरचना र राजनीतिक वातावरणप्रति प्रश्न उठाउने विषय बनेको छ।
मताधिकारले भावनात्मक रूपमा सम्बन्ध जोड्न सक्छ, तर युवालाई देशमै राख्न रोजगारी, अवसर र सुरक्षाको वातावरण अपरिहार्य हुन्छ। सरकार परिवर्तनबाट अपेक्षित स्थिरता नदेखिएकाले युवाहरूको वैदेशिक पलायन झनै तीव्र बनेको छ।


