काठमाडौं । नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिने केरुङ नाका पाँच महिनादेखि बन्द रहेका कारण नेपाली व्यवसायी गम्भीर समस्यामा परेका छन्।
गत असार २४ गते लेन्दे खोलामा आएको भीषण बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बहेपछि नाका त्यसयता पूर्णरूपमा अवरुद्ध छ। जसका कारण दसैँ–तिहार लक्षित हजारौँ बोरा लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्सलगायत सामग्री नाकामै थन्किएका छन्।
२०० भन्दा बढी कन्टेनर अलपत्र
राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठका अनुसार करिब २०० कन्टेनर चाडपर्वका लागि ल्याइएका सामग्री केरुङमै रोकिएका छन्।
"साउनमै ल्याइएका सामग्री अझै नाका नखुलेका कारण निकाल्न नसकिएको छ, व्यवसायी ठूलो नोक्सानीमा छन्," श्रेष्ठले बताए।
तातोपानी नाका सुस्त, कोरोला नाका पनि बन्द
सिन्धुपाल्चोकको तातोपानी नाका तिहारपछि खुले पनि व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन। अर्काे विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरोला नाकामा हाल चिसोकै कारण आवागमन रोकिएको छ।
व्यवसायीहरूका अनुसार कोरोला नाकाबाट दैनिक चार–पाँच सवारीलाई मात्र चीन प्रवेश पास दिइँथ्यो, अहिले ती पनि बन्द छन्। मुस्ताङ हुँदै सामान ल्याउँदा यात्रातथा इन्धन खर्च अत्यधिक बढ्ने गुनासो छ।
मुख्य नाका बन्द, मूल्यवृद्धिको जोखिम
नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्कीका अनुसार दुई प्रमुख नाका व्यवस्थित नहुँदा देशभरका बजारमा मूल्यवृद्धिको जोखिम बढेको छ।
“मुख्य मार्ग अवरुद्ध हुँदा व्यवसायीले वैकल्पिक, महँगो ढुवानी मार्ग रोज्नुपर्छ। यसले अन्ततः उपभोक्ताले तिर्ने मूल्य नै बढाउँछ। सरकार तुरुन्त पहल गरेर केरुङ नाका खुलाउनुपर्छ,” कार्कीले आग्रह गरे।
तातोपानीबाट पनि अपेक्षित ढुवानी भएन
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार तातोपानी नाकाबाट आयात हुने कन्टेनर संख्या घट्दै गएको छ।
“केरुङ खुलेको समयमा तातोपानी हुँदै दैनिक २५–३० कन्टेनर भित्रिन्थ्यो। अहिले केरुङ बन्द छ तर तातोपानीबाट आउने ढुवानी बढ्नुको सट्टा अझै कम भएको छ,” उनले बताए।
भन्सार विवरणअनुसार पछिल्लो समय तातोपानी हुँदै भित्रिने सामग्रीमध्ये करिब ८० प्रतिशत फलफूल रहेका छन्। चीनसँग सहज व्यापार पुनःस्थापनाका लागि महावाणिज्य दूतावाससँग निरन्तर समन्वय भइरहेको भन्सार कार्यालयले जनाएको छ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार हाल कोरोला नाका चिसोका कारण पूर्णरूपमा बन्द छ।
“तातोपानी नाकाबाट दैनिक ३०–३५ कन्टेनर नेपाल भित्रिन्छ। केरुङ बन्द रहे पनि केही व्यापार भने निरन्तर छ,” उनले जानकारी दिए।
व्यवसायीहरूको भनाइमा, केरुङ नाका छिटो खुले नेपाल–चीन व्यापार सामान्य अवस्थामा फर्किने र चाडपर्वका सामग्री बजारमा सहजै आपूर्ति हुने अपेक्षा गरिएको छ।


