मुस्ताङ। मुस्ताङका पाँच स्थानीय तहमा यो वर्ष आलुको उत्पादन क्षेत्र विस्तारसँगै उत्पादन तथा बिक्री रकममा उल्लेख्य वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रको अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ४७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन गरिएको छ। जसको मूल्य रु ६२ करोड ८२ लाख ३५ हजार ४०० पुगेको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार गत वर्षको तुलनामा यो वर्ष उत्पादन क्षेत्र १८ हेक्टरले बढेको छ भने प्रतिहेक्टर उत्पादन पनि करिब २ मेट्रिक टनले वृद्धि भएको छ। यस वर्ष प्रतिहेक्टर औसत उत्पादन २०.२२ मेट्रिक टन पुगेको छ। क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि दुवैका कारण यो वर्ष रु ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको अतिरिक्त आलु उत्पादन भएको केन्द्रले जनाएको छ।
फार्म गेटमा प्रतिकिलो रु ६५ औसत मूल्यका आधारमा कुल उत्पादन मूल्यको गणना गरिएको कृषि प्रमुख गुरुङले जानकारी दिए। कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको समन्वयमा स्थानीय तहका कृषि प्राविधिकसँगै ‘क्रप कटिङ’ विधिबाट उत्पादनको लेखाजोखा गरिएको हो। मुस्ताङलाई माथिल्लो, मध्यमुस्ताङ र तल्लो क्षेत्रमा विभाजन गरी किसानका खेतबारीबाट धेरै फल्ने, सामान्य फल्ने र कम फल्ने क्षेत्रका नमुना संकलन गरेर औसत उत्पादन निर्धारण गरिएको बताइएको छ।
गत वर्ष पाँच स्थानीय तहमा ४६० हेक्टरमा ८,४९६ मेट्रिक टन आलु उत्पादन गरिएको थियो। त्यतिबेला प्रतिहेक्टर औसत उत्पादन १८.३८ मेट्रिक टन थियो। केन्द्रका अनुसार गत वर्षको तुलनामा यो वर्ष १,१६९ मेट्रिक टनले आलु उत्पादन बढेको छ। गत वर्ष प्रतिकिलो रु ६० मा बिक्री हुने आलु यो वर्ष रु ६५ मा बिक्री भएको छ।
चालु वर्ष उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र बाँकी १० प्रतिशत बीउका रूपमा प्रयोग भएको केन्द्रले जनाएको छ। घरायसी प्रयोग र होटल–रेस्टुराँमा मिलेर कुल उत्पादनको करिब एकतिहाइ आलु उपभोग हुने गरेको छ। मुस्ताङमा स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलु खेती गर्ने परम्परा रहेको छ।
उच्च हिमाली भूगोलमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो मानिन्छ। यहाँको सेतो लोकल आलु तरकारी, उसिनेर वा साँधेर खाने प्रचलन छ। थकाली भान्सा तथा ठूला तारे होटलहरूमा मुस्ताङी आलुको उच्च माग रहँदै आएको छ। कोरला सडक सहज बन्दै जाँदा स्याउसँगै आलुको माग पनि बढिरहेको घरपझोङ–४, जोमसोमका किसान अजित थकालीले बताए।


