तनहुँ, १३ मंसिरः पोखरा–मुग्लिन ३८ किलोमिटर सडक खण्डको पश्चिम भाग (पोखरा–जामुने) मा निर्माणाधीन १२ मध्ये ११ पुलको काम सम्पन्न भएको छ।
सडक आयोजना कार्यालयका अनुसार म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला तथा कास्कीको कोत्रेखोलामा पुल निर्माण पूरा भएको छ। साथै, उक्त खण्डमा १०५ वटा कल्भर्ट निर्माण गरिएको छ।
हालसम्म सडकको भौतिक प्रगति ५९.८९ प्रतिशत, जबकि वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको परियोजना कार्यालयले जनाएको छ। करिब ३० किलोमिटर भाग चार लेन (दुईतर्फी) र लगभग ८ किलोमिटर भाग दुई लेन (एकतर्फी) कालोपत्र भएको छ।
यस्तै, पूर्वी खण्ड (जामुने–मुग्लिन) तर्फको ४३ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ।


