तरलता व्यवस्थापन अहिलेको मुख्य आर्थिक चुनौती : गभर्नर पौडेल

तरलता व्यवस्थापन अहिलेको मुख्य आर्थिक चुनौती : गभर्नर पौडेल

ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले वर्तमान अवस्थामा नेपालको अर्थतन्त्रले सामना गरिरहेको प्रमुख चुनौती तरलता व्यवस्थापन रहेको बताएका छन्। बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि ठूलो पूर्वाधार क्षेत्रमा लगानी विस्तार हुन नसक्नु चिन्ताजनक रहेको उनले उल्लेख गरे।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले मौद्रिक नीतिमा समेटिएका प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा अपेक्षित परिणाम आउन नसकेकामा ध्यान आकर्षित गरे। बैंक तथा वित्तीय संस्थाहरूको लगानी केही सीमित क्षेत्रमा मात्रै केन्द्रित रहेको बताउँदै उनले स्थानीय आवश्यकता अनुसार कर्जा विस्तार अनिवार्य हुनुपर्नेमा जोड दिए।

    कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन सके आर्थिक गतिविधि सबल रूपमा अघि बढ्ने उनको भनाइ छ।
    “कर्जा विस्तार गर्दा जोखिम व्यवस्थापनसँगै स्थानीय आर्थिक प्राथमिकता अनिवार्यरुपमा हेर्नुपर्छ। उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ,” उनले भने।

    बैंक तथा वित्तीय संस्थाहरूले नाफा वृद्धि केवल कर्जाको दरमा निर्भर नराखी व्यवसाय विस्तार, गुणस्तरीय सेवा प्रवाह र प्रविधिको प्रभावकारी प्रयोगमा पनि ध्यान दिनुपर्ने सुझाव उनले दिए।
    “मौद्रिक नीतिका लक्ष्य पूरा गर्न बैंकहरू स्वयं सक्रिय हुनुपर्छ। वित्त तथा मौद्रिक नीतिहरू क्रमशः लचक बन्दै जाने छन्, त्यसको अवसर उपयोग गर्न बैंक–वित्तीय क्षेत्र तयार हुनुपर्छ,” गभर्नर पौडेलले स्पष्ट पारे।

    अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र समान रूपमा जिम्मेवार रहेको उल्लेख गर्दै उनले सरकारको पूँजीगत खर्च वृद्धि आवश्यक रहेको पनि बताए।
    “अर्थतन्त्रका गतिविधिहरू क्रमशः बढ्दै गइरहेका छन्। यसलाई थप गतिशील बनाउन सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” गभर्नर पौडेलको भनाइ छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend