काठमाडौं। देशका विभिन्न भागमा सडक स्तरोन्नति तथा कालोपत्रका काम तीव्र गतिमा भइरहेको छन्। पर्वत र हुम्लामा दुई महत्वपूर्ण सडकखण्डको काम अगाडि बढ्दै छ।
पर्वतमा दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु गरिएको छ। विसं २०४९ मा विस्तार भए पनि वर्षौं देखि कच्ची अवस्थामा रहेको यो सडक सङ्घीय सरकारको करिब रु ४ करोड बजेटमा कालोपत्र भइरहेको हो। चिसापानी–हुवास–वहाकी–रानीपानीमार्ग पहिले नै कालोपत्र भइसकेको छ। बाँकी डुम्रेभञ्ज्याङ–चिसापानी खण्ड समेत पूरा भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरबीच सिधा सम्पर्क स्थापित हुने र स्थानीयको यात्रा सहज हुने जनाइएको छ।
यस्तै हुम्लाको अदानचुली गाउँपालिकामा गल्फागाड–श्रीनगर सडक स्तरोन्नति र कालोपत्रको काम सुरु गरिएको छ। करिब १० वर्षअघि ट्र्याक खोलेको यो सडक पहिलोपटक व्यवस्थित रूपमा सुधार भइरहेको हो। कर्णाली करिडोरको जिरो पोइन्ट गल्फागाडबाट सुरु भई श्रीनगरसम्म करिब ९ किलोमिटर सडक विश्व बैंकको सहयोगमा निर्माण भइरहेको छ। सडक चौडा बनाउने, ग्याविन जाली राख्ने र नाला निर्माणजस्ता काम तीव्र गतिमा अगाडि बढिरहेका छन्।
दुवै सडक पूरा भएपछि स्थानीय बासिन्दाको यात्रा सहज हुनुका साथै क्षेत्रीय यातायात तथा व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


