उखुको मूल्य निर्धारणमा महोत्तरीका किसान सन्तुष्ट

उखुको मूल्य निर्धारणमा महोत्तरीका किसान सन्तुष्ट

ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
ट्याक्स खबर
मंगलवार, मंसिर २३ २०८२
  • images

    महोत्तरी। सरकारले सोमबार सार्वजनिक गरेको नयाँ उखु मूल्य र अनुदान दरलाई महोत्तरीका किसानले अपेक्षाअनुसार नपुगे पनि गत वर्षभन्दा वृद्धि भएकाले स्वीकारेका छन्।

    उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानहरूको माग प्रतिक्विन्टल ७५० रुपैयाँ थियो। तर सरकारले उद्योगले दिने ६२० रुपैयाँ र सरकारको ७० रुपैयाँ अनुदान गरी प्रतिक्विन्टल ६९० रुपैयाँ तोकेको छ। यो दर गत वर्षको तुलनामा ७० रुपैयाँले बढी हो।

    समयमै खुट्टी उखु काट्न दबाब

    किसानहरू अहिले दोस्रो वर्षको ‘खुट्टी उखु’ काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाउनुपर्ने समयसीमामा छन्। “मूल्यप्रति केही असन्तुष्टि भए पनि अब ढिला गर्न सक्दैनौं,” भङ्गाहा–४ का किसान अरुण गिरी भन्छन्, “उखु काट्न ढिलाइ भयो भने छ महिनासम्म खेत बाँझिन सक्छ।”

    किसानहरूका अनुसार पुस तेस्रो साताभित्र नयाँ बाली नलगाए असारसम्म पर्खनु पर्ने अवस्था आउँछ। बर्दिवास–९ का किसान रामविनोद महतो भन्छन्, “अहिले बाली नलगाए खेत रुखिन्छ, त्यसैले खुट्टी उखु काट्ने हतारो छ।”

    मूल्य निर्धारण ढिलाइप्रति किसानको गुनासो

    उखु किसानका संगठनहरूले प्रत्येक वर्ष कात्तिक मसान्तभित्र मूल्य निर्धारण गरी मङ्सिर दोस्रो सातादेखि खुट्टी उखुको क्रसिङ सुरु गर्नुपर्ने माग गर्दै आएका छन्। तर किसानहरूको भनाइमा सरकार सधैँ ढिलो गरी किसानलाई बाध्य बनाएर मूल्य स्वीकार गराउने गर्छ। बर्दिवास–१२ का किसान विश्वनाथ सिंह भन्छन्, “मूल्य निर्धारण ढिलाइ हुँदा हामी दबाबमा पर्छौँ।”

    उद्योग सञ्चालन ढिलाइले किसान चिन्तित

    गौशाला–१रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज यस वर्ष ढिलो सञ्चालनमा आउने भएका कारण किसानमा थप चिन्ता बढेको छ। मूल्य निर्धारण भएसँगै उद्योगले मङ्सिरभित्र उपकरण पूजा (डोला पूजा) सकेर पुस पहिलो साताबाट क्रसिङ सुरु गर्ने तयारी चलिरहेको जनाएको छ। गत वर्ष उद्योगले मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको थियो।

    जिल्लामा ९ हजार ६०० बिघामा उखु खेती

    जिल्लामा यो वर्ष ९,६०० बिघामा उखुखेती भएको छ। जसमध्ये ५,००० बिघामा खुट्टी र ४,६०० बिघामा मुडन उखु रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend