काठमाडौं। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ आयोजना हुने भएको छ । प्रदर्शनीको दशौँ संस्करण यहि पुष ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजकले जानकारी दिएका छन् ।
इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी सामग्री समेटिएको यस बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल रहनेछन् ।
फर्निचर, प्लाइउड, काठ औजार, ल्यामिनेटलगायत क्षेत्रका कम्पनी, डिलर, सब–डिलर तथा विक्रेतामार्फत काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नयाँ–नयाँ प्रविधिको जानकारी दिने उद्देश्यले आयोजना हुँदै आएको यो प्रदर्शनी पछिल्ला १० वर्षदेखि यस क्षेत्रका लागि महत्वपूर्ण प्लेटफर्म बन्दै आएको आयोजकको भनाइ छ ।
एघारौँ नेपाल उड प्रदर्शनीमार्फत विश्वका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डका अत्याधुनिक उत्पादन र प्रविधि नेपाली बजार तथा स्वदेशी उद्योगमा प्रयोग गराउने पहल गरिएको छ । यसले साना तथा ठूला उद्योगलाई प्रयोगमा रहेका मेसिन तथा प्रविधि उन्नयन गरी उत्पादनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा सहयोगी संस्थाका रूपमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल रहेका छन् ।
इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूमार्फत नविनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विषयमा दुईदिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि आयोजना गरिनेछ ।
यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ । घर निर्माण गर्न चाहने व्यक्ति, सर्वसाधारणका साथै आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
नयाँ प्रविधिका सामग्री भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भइसकेका प्रविधिलाई नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने माध्यमका रूपमा यो प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ । साथै, काष्ठ वस्तु उत्पादनसम्बन्धी गतिविधिमा पनि यसले सकारात्मक भूमिका खेल्ने आयोजकको भनाइ छ ।


