काठमाडौं। गत असारमा आएको बाढीका कारण बन्द रहेको रसुवा नाका छ महिनापछि आइतबारबाट पुनः खुलेको छ। चीनले बेलिब्रिज निर्माण गरेसँगै नाका सञ्चालनमा आएको हो।
रसुवा भन्सार कार्यालयका अनुसार आइतबारदेखि नाकाबाट मानिसहरूको आवतजावत सुरु गरिएको छ। हाल केरुङमा सामान रहेका नेपाली व्यवसायी तथा कन्टेनर र ट्रक चालकलाई आवतजावत गर्न अनुमति दिइएको छ।
चिनियाँ पक्षले पुस १७ गतेदेखि नाकाबाट सामान आयात गर्न दिने जानकारी नेपाली पक्षलाई गराइसकेको भन्सार कार्यालयले जनाएको छ।
गत असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने पुल बगाएपछि रसुवा नाका पूर्ण रूपमा बन्द भएको थियो। उक्त पुलको स्थानमा बेलिब्रिज निर्माण कार्य एक साताअघि सम्पन्न भएको हो।
यद्यपि, बाढीले क्षति पुर्याएको नेपालतर्फको सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएको छ।


