कास्की। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि स्वदेश तथा विदेशसँगको सडक र हवाई कनेक्टिभिटी अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्।
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री घिसिङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।
उनले पोखराको दीगो विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल विस्तार र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान अनिवार्य रहेको उल्लेख गरे। “एयर कनेक्टिभिटी पर्यटन मात्र होइन, जियोपोलिटिक्ससँग पनि जोडिएको विषय हो। अब आउने सरकारले यसलाई प्राथमिकतामा राखेर समाधान खोज्नुपर्छ,” मन्त्री घिसिङले भने, “पर्यटकीय सहरमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनले यहाँको पर्यटनलाई ठूलो टेवा पुर्याउँछ।”
पोखराबाट मुस्ताङ हुँदै चीनको कोरला नाकासम्मको सडक सुधार तथा कालोपत्रे कार्य भइरहेको जानकारी दिँदै उनले यसले आगामी दिनमा पर्यटन प्रवर्द्धन र चीनसँगको व्यापारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। मुस्ताङदेखि कोरलासम्मको करिब ५० किलोमिटर सडक कालोपत्रका लागि अर्थ मन्त्रालयसँगको सहमतिमा टेण्डर प्रक्रिया अघि बढाइएको उनले बताए।
मन्त्री घिसिङले पोखराका कुँडहरदेखि लेकसाइडसम्मका सडकमा रहेका विद्युत् पोल र तार भूमिगत गर्ने काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। पोल र तार हटाएर ‘सुन्दर पोखरा’ अभियानलाई साकार बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। साथै, संघीय सरकारले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र मनाङका पर्यटकीय क्षेत्रसम्म ग्रिड कनेक्टिभिटी विस्तारमा काम गरिरहेको पनि उनले बताए। फेवाताल, रुपाताल र बेगनास तालको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिने योजना रहेको उनको भनाइ छ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन विकासका लागि प्रदेश सरकारले घरवास (होमस्टे) कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण तथा गन्तव्य प्रवर्द्धनमा काम गरिरहेको बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित गर्न मन्त्री घिसिङसँग पहल गर्न आग्रह गरे।
अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतका अवसरमा आयोजना गरिएको पोखरा सडक महोत्सव फेवाताल किनारको लेकसाइडस्थित खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म सञ्चालन हुनेछ। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार, पछिल्ला चुनौतीपूर्ण परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको अवधारणालाई अघि बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसाय पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव प्रभावकारी हुने आयोजकको विश्वास छ। महोत्सव संयोजक वसन्त गौतमका अनुसार, कार्यक्रममा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक प्रस्तुति, मौलिक वेशभूषा र झाँकी प्रदर्शन, साथै सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारको प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहनेछन्।


