काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २४ औ बार्षिक साधारण सभा एवं आठौ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्य समिति चयन भएको छ।
शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्य समितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्य समिति चयन भएको हो। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरुमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्।
वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्याइएको छ। यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन्। नयाँ संशोधित विधान अनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पुर्याइएको छ।
यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन्। संशोधन विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यको रुपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले इप्पानभित्र सबै अटाएर सर्वसहमत रुपमा अघि बढ्ने गरी नयाँ विधानको संशोधनगरी सहमतिको आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्यलाई मनोनयन गर्ने सहमति भएको जानकारी दिए।
इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ अध्यक्ष हुने इप्पानको विधान २०७८ लाई संशोधन गरी सबै पदहरुमा चुनाव गराउने गरी व्यवस्था गरेको छ तर अध्यक्षको हकमा एक कार्यकालमा कार्य समितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी विधानमा संशोधन गरी ५ उपाध्यक्षलाई ७ पुर्याउने, ५ सचिवालाई ७ पुर्याउने र स्थायी आमन्त्रित सदस्यको रुपमा ५ जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ।
इप्पानका अध्यक्ष कार्कीले इप्पानलाई बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोको रुपमा विकास गर्ने गरी विधान शंसोधन गरिएको र पारित भएको जानकारी दिए । इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आवद्ध हुनु नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ ।


