काठमाडौं। राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा नेपाली कांग्रेस सभापति गगन थापाले किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्।
शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषिप्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको मुख्य आधार भएको उल्लेख गरेका छन्। खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति सम्मान व्यक्त गर्दै उनले असार १५ लाई किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सवका रूपमा व्याख्या गरेका छन्।
उनले नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै धान उत्पादन वृद्धि गर्नु केवल कृषि उत्पादनको विषय नभई संविधानको मर्म कार्यान्वयनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको बताएका छन्।
थापाले किसानहरूले हरेक वर्ष गुणस्तरीय बीउ, मल, सिँचाइ र उत्पादनको उचित मूल्य नपाउने समस्या झेलिरहेको उल्लेख गर्दै नेपाली धान खेती अझै पनि वर्षामै निर्भर रहनुपरेको यथार्थ औँल्याएका छन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप जटिल चुनौती सिर्जना भइरहेकाले त्यसअनुसार नीति र प्रविधिमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई उल्लेख गर्दै उनले मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमार्फत चामल आयातमा रहेको परनिर्भरता घटाउन सकिने विश्वास व्यक्त गरेका छन्।
उनले कृषि क्षेत्रको दिगो विकासका लागि बाह्रै महिना सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउको सहज उपलब्धता, समयमै गुणस्तरीय मलको आपूर्ति, सुरक्षित भण्डारण र किसानले उत्पादनको उचित समर्थन मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सन्देशको अन्त्यमा थापाले कृषि पेशालाई सम्मानित, मर्यादित र आकर्षक बनाउन सरकार, निजी क्षेत्र र किसान सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय धान दिवसले अन्नदाता किसानप्रतिको सम्मान अझ बलियो बनाउँदै देशलाई खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।


