काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरे पनि उपभोक्ताले भने त्यसको प्रत्यक्ष र समानुपातिक लाभ पाउन सकेका छैनन् ।
निगमले डिजेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँ सम्मको ठूलो गिरावट गरे पनि सरकारले सार्वजनिक यातायातको भाडा भने मात्र २ प्रतिशतले घटाएको छ।
यातायात व्यवस्था विभागको यो निर्णयसँगै इन्धनको मूल्य भारी मात्रामा ओर्लिंदा पनि आम सर्वसाधारणले महँगो भाडा बुझाउनुपर्ने बाध्यता कायमै रहने देखिएको छ।
यातायात व्यवस्था विभागका अनुसार बिहीबारदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भएर चल्ने (राष्ट्रियस्तरका रुट) सार्वजनिक यातायातको भाडादर घटाइएको हो । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधन र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधन सबैको भाडामा समान २–२ प्रतिशत मात्रै समायोजन (घटेको) हो।
यसअघि गत वैशाख १२ गते इन्धनको मूल्य बढ्दा भाडादर ५ प्रतिशत बढेको थियो।
गत बुधबार नेपाल आयल निगमले गरेको मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ९५ रुपैयाँमा झरेको छ।


