मेसी, म्याराडोना वा पेले: आखिर को हुन् फुटबलका सबैभन्दा महान खेलाडी?

मेसी, म्याराडोना वा पेले: आखिर को हुन् फुटबलका सबैभन्दा महान खेलाडी?

ट्याक्स खबर
शनिवार, श्रावण २ २०८३
ट्याक्स खबर
शनिवार, श्रावण २ २०८३
  • images

    एजेन्सी (ब्राजिल)। जब लियोनेल मेसी आफ्नो करियरको तेस्रो फुटबल विश्वकप कप फाइनलको तयारी गरिरहेका छन्, तब एउटा प्रश्न पुनः अगाडि आएको छ। के अर्जेन्टिनाका यी सुपरस्टारलाई अहिलेसम्मकै सबैभन्दा महान फुटबलर मान्न सकिन्छ? के उनले आफ्न देशका  डिएगो म्याराडोना र ब्राजिलका पेलेलाई पछि पारेका छन्?

    ३९ वर्षको उमेरमा पनि मेसी २०२६ फिफा विश्व कपमा अर्जेन्टिनाका लागि एक महत्त्वपूर्ण खेलाडीका रूपमा रहेका छन्। विश्लेषकहरू भन्छन् कि मेसी अब आफ्ना युवा दिनहरू जस्तो विस्फोटक खेलाडी नरहे पनि आफ्नो दूरदृष्टि, मैदानमा सही स्थान लिने क्षमता र निर्णय गर्ने योग्यताको बलमा उनी अहिले पनि खेलको दिशा तय गर्छन्। कैयौँ पटक मैदानमा उनको भूमिका एक कोच जस्तो देखिन्छ। तर, के उनले आफ्ना प्रतिद्वन्द्वीहरूलाई पछि पारेका छन्?

    जुन मानिसहरू मेसीलाई फुटबल इतिहासकै सबैभन्दा महान खेलाडी मान्छन्, उनीहरू सामान्यतया दुईवटा कुरामा जोड दिन्छन्।

    पहिलो लामो करियर र दोस्रो लगातार उच्च स्तरको प्रदर्शन। कैयौँ महान खेलाडीहरूको करियरको सर्वश्रेष्ठ समय तुलनात्मक रूपमा छोटो रह्यो, तर मेसी करिब दुई दशकदेखि विश्वका सर्वश्रेष्ठ खेलाडीहरूमा सामेल छन्।

    यस अवधिमा उनले रेकर्ड आठ पटक ब्यालोन डी'ओर अवार्ड जितेका छन्। स्पेन र फ्रान्समा लिग उपाधिहरू जिते, चार पटक च्याम्पियन्स लिग च्याम्पियन बने, कोपा अमेरिका र २०२२ को कतार वर्ल्ड कप जिते। साथै, उनले गोल गर्ने र गोल गराउने (असिस्ट) मामिलामा पनि उल्लेखनीय रेकर्डहरू बनाएका छन्।

    उनका समर्थकहरू यो पनि भन्छन् कि मेसीले फरक-फरक परिस्थितिमा सफलता हासिल गरे। युरोपमा बार्सिलोनाको दबदबादेखि अन्तर्राष्ट्रिय स्तरमा अर्जेन्टिनाको पुनरागमनसम्म, उनले हरेक ठाउँमा आफ्नो क्षमता प्रमाणित गरे। मेसीका समर्थकहरूका अनुसार प्रतिभा, निरन्तरता र लामो समयसम्म शीर्ष स्थानमा रहिरहने यो मेलले उनलाई इतिहासका अन्य प्रत्येक खेलाडीभन्दा फरक बनाउँछ।

    फ्रान्सका स्ट्राइकर थियरी अनरी पनि आफ्ना पूर्वबार्सिलोना टिम सहयात्रीमा असाधारण प्रतिस्पर्धी भावना देख्छन्। स्पेनको अखबार 'मार्का'लाई दिएको एक अन्तर्वार्तामा अनरीले क्याटलन क्लबमा सँगै बिताएका ट्रेनिङका दिनहरू सम्झिए। उनले भने कि यदि मेसीलाई अलिकति पनि आफूमाथि अन्याय भएको महसुस हुन्थ्यो भने उनको व्यवहार पूर्ण रूपमा परिवर्तन हुन्थ्यो।

    फ्रान्सेली खेलाडीले भने, 'त्यो हिंस्रक जनावर (बीस्ट) लाई नब्युँझाऊ।' उनले त्यस्ता धेरै मौकाहरू सम्झिए, जब मेसीलाई रेफ्रीले आफ्नो विरुद्धमा फल दिएनन् भन्ने लाग्थ्यो र त्यसपछि उनले छोटो समयमै धेरै गोलहरू वर्षाउँथे।

    म्याराडोनाको छाया
    अर्जेन्टिनामा मेसीको तुलना सामान्यतया पेले वा अन्य वैश्विक ताराहरूसँग कम र डिएगो म्याराडोनासँग बढी हुने गरेको छ। म्याराडोना त्यही कप्तान थिए जसले १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए। म्याराडोनाको प्रभाव फुटबलभन्दा धेरै अगाडिसम्म फैलिएको थियो। कैयौँ अर्जेन्टिनीहरूका लागि उनी राष्ट्रिय पहिचानको प्रतीक बनेका थिए।

    मेसीका प्रमुख जीवनीकारहरूमध्येका एक तथा स्पेनिस पत्रकार गियेम बालागेले भने, 'म्याराडोना अर्जेन्टिनाका राजा (किंग) थिए। राजालाई चुनिरहनु पर्दैन, उनी बस देशको प्रतिनिधित्व गर्छन्।'

    कैयौँ वर्षसम्म केही अर्जेन्टिनीहरूले मेसीको प्रतिभाको प्रशंसा गरिरहे, तर तैपनि म्याराडोनालाई नै अर्जेन्टिनाको वास्तविक राष्ट्रिय अनुहार मानिरहियो। गरिबीमा हुर्किएका म्याराडोना, जसको २०२० मा निधन भयो, उनी खुला रूपमा सत्तालाई चुनौती दिन्थे, राजनीतिमा भाग लिन्थे र उनले एक विद्रोहीसँगै आकर्षक छवि बनाएका थिए, जसले गर्दा धेरै मानिसहरूले आफूलाई उनीसँग जोड्थे।

    यसको विपरीत मेसीको बाटो बिल्कुलै फरक रह्यो। मैदानबाहिर उनी शान्त स्वभावका रहे, राजनीतिक मुद्दाहरूमा बोल्नबाट जोगिए र लगभग पूर्ण रूपमा फुटबलमा मात्र ध्यान केन्द्रित गरे। उनले आफ्नो करियरको ठूलो हिस्सा खेलबाहिरको हेडलाइन र चर्चाबाट टाढा रहेर बिताए।

    मेसीले मानिसको सोच कसरी बदले?
    २०२१ मा अर्जेन्टिनाले कोपा अमेरिका जितेपछि मेसीप्रति मानिसहरूको दृष्टिकोण परिवर्तन हुन थाल्यो। यस जितसँगै अर्जेन्टिनाले कुनै ठूलो अन्तर्राष्ट्रिय उपाधिका लागि गरेको २८ वर्षको पर्खाइ समाप्त भएको थियो।

    २०२२ को विश्वकपका दौरान यो परिवर्तन अझ तीव्र भयो, जहाँ मेसीले अर्जेन्टिनालाई तेस्रो पटक विश्व च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले।

    त्यस प्रतियोगिताका क्रममा मेसीको अलि बढी भावुक र आक्रामक रूप पनि बाहिर आयो। उनले नेतृत्वको यस्तो भूमिका निभाए, जसलाई धेरै प्रशंसकहरूले पहिले म्याराडोनासँग जोडेर हेर्थे। बालागे भन्छन्, 'उनले आफ्नो व्यक्तित्वका नयाँ पाटाहरू देखाए। मानिसहरूले उनलाई टोलीको कमाण्डरका रूपमा हेर्न थाले।'

    कैयौँ अर्जेन्टिनीहरूका लागि यी पलहरूले मेसी र म्याराडोनाबीच रहेको भावनात्मक दूरीलाई धेरै हदसम्म कम गरिदियो। तैपनि बालागेको विचारमा यो बहस पूर्ण रूपमा सकिएको छैन। उनी भन्छन्, 'आज मेसी एक फुटबलरका रूपमा म्याराडोनाभन्दा अगाडि निस्किसकेका छन्। तर, सधैँ यस्ता अर्जेन्टिनीहरू रहनेछन् जसलाई म्याराडोनाले उनीहरूको अझ राम्रो प्रतिनिधित्व गर्थे भन्ने लागिरहनेछ।'

    पेलेको पक्षमा तर्क
    केही विश्लेषकहरू यो पनि भन्छन् कि मेसीले आफ्ना हमवतन म्याराडोनालाई मात्र होइन, ब्राजिलका दिग्गज पेलेलाई पनि पछि पारेका छन्। पेलेलाई अक्सर 'फुटबलका राजा' भनिन्छ। उनको २०२२ मा निधन भएको थियो। पेले अहिले पनि तीनवटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन्। उनले १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्व च्याम्पियन बनाउन मद्दत गरेका थिए।

    २०१८ मा ब्राजिलको अखबार 'फोलहा डे एस. पाउलो'लाई दिएको एक अन्तर्वार्तामा पेलेले म्याराडोना मेसीभन्दा 'धेरै राम्रो खेलाडी' भएको बताएका थिए। उनको भनाइ थियो कि मेसी आफ्नो देब्रे खुट्टामा धेरै निर्भर रहन्छन् र उनको खेलमा ती सबै क्षमता छैनन् जुन अन्य केही महान खेलाडीमा थिए। पेलेले भनेका थिए, '(फ्रान्ज) बेकेनबायुर र (योहान) क्रुइफ पनि उनीभन्दा राम्रा छन्।' उनको इशारा जर्मनी र नेदरल्याण्ड्सका ती खेलाडीहरूतर्फ थियो, जो १९७० को दशकमा आफ्नो सर्वश्रेष्ठ लयमा थिए।

    ब्राजिलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तोस्ताओको विचार भने फरक थियो। २०२१ मा उनले मेसी म्याराडोनाभन्दा अगाडि बढेको तर अझै पनि ब्राजिलका महान खेलाडी पेलेभन्दा पछि रहेको बताएका थिए। तोस्ताओले भनेका थिए, 'पेलेपछि मेसी इतिहासकै सबैभन्दा राम्रो खेलाडी हुन्। उनी म्याराडोनाभन्दा बढी पूर्ण खेलाडी हुन् । उनको करियर पनि लामो छ। पेले र मेसीबीचको सबैभन्दा ठूलो फरक उनीहरूको शारीरिक क्षमता हो। पेले बढी शक्तिशाली थिए र धेरै राम्रा एथलिट थिए।'

    स्वयम् पेलेको पनि आफ्नो कौशलको तुलना मेसीसँग हुन नसक्ने भनाइ थियो। उनले फोलहा डे एस. पाउलोसँग भनेका थिए, 'तपाईं त्यो खेलाडीको तुलना कसरी गर्न सक्नुहुन्छ जसले हेडर पनि राम्रो प्रहार गर्छ, देब्रे खुट्टाले पनि सट हान्छ, दाहिने खुट्टाले पनि सट हान्छ र त्यो खेलाडीसँग जसको पूर्ण निर्भरता मात्र एउटा खुट्टामा छ, जसमा केवल एक प्रकारको क्षमता छ। जसले हेडर पनि राम्रोसँग लगाउन सक्दैन?' उनले थपे, 'पेलेसँग तुलना गर्ने हो भने त्यस्तो खेलाडी हुनुपर्छ जसले देब्रे खुट्टाले पनि राम्रो सट हानोस्, दाहिने खुट्टाले पनि राम्रो सट हानोस् र हेडरबाट पनि गोल गरोस्।'

    तथ्यांकभन्दा माथि
    यो मतभेदले एउटा ठूलो प्रश्नतर्फ इशारा गर्छ। यदि महानता तय गर्नका लागि केवल तथ्यांक (तथ्य र रेकर्ड) नै काफी हुन्थ्यो भने सायद यो बहस अहिलेसम्म सकिइसकेको हुन्थ्यो। व्यक्तिगत र टोलीगत उपलब्धिका मामिलामा मेसीको रेकर्ड कैयौँ विधामा अतुलनीय छ।

    तर, केवल तथ्यांकले यो बुझाउन सक्दैन कि फुटबलका सबैभन्दा महान खेलाडीको तुलनालाई लिएर किन यति तीखो बहस हुन्छ। यस चर्चालाई एउटा साधारण तथ्यले अझ जटिल बनाइदिन्छ- पेले, म्याराडोना र मेसी तीनवटा बिल्कुलै फरक-फरक कालखण्डमा खेले।

    जब पेलेले १९५८ मा आफ्नो पहिलो विश्वकप जिते, तब फुटबलमा आधुनिक खेल विज्ञान, वैश्विक टेलिभिजन प्रसारण र उन्नत प्रविधिजस्ता कुराहरू उपलब्ध थिएनन्। १९८० को दशकमा म्याराडोनाको समयसम्म फुटबल पूर्ण रूपमा विश्वकै आकर्षण बनिसकेको थियो। तर यो आजको अर्बौँ डलरको उद्योगभन्दा अझै पनि धेरै फरक थियो।

    मेसीले आफ्नो लगभग पूरा करियर यस्तो वातावरणमा बिताएका छन्, जहाँ प्रदर्शनको विश्लेषण, उन्नत चिकित्सा सहायता र लगातार मिडियाको निगरानी खेलको हिस्सा बनेको छ। विश्वभरका कोच, विज्ञ र प्रशंसकले हरेक खेलको 'रियल टाइम' (तत्काल) विश्लेषण गर्छन्। यस्तो अवस्थामा फरक-फरक पुस्ताका खेलाडीहरूको तुलना गर्नु अझ गाह्रो हुन्छ।

    ब्राजिलका पूर्वस्ट्राइकर रोनाल्डो, जसले मेसीलाई 'जीनियस' भनिसकेका छन्, उनको भनाइ छ कि सबैभन्दा महान खेलाडीको पहिचान तपाईंले कुन मापदण्ड प्रयोग गरिरहनुभएको छ भन्ने कुरामा निर्भर गर्दछ। उनले प्रश्न गरे, 'कुनै पनि मापदण्डविना तपाईं कसरी कुनै एक जनालाई मात्र रोज्न सक्नुहुन्छ?'

    यो निश्चित रूपमा सत्य हो कि पेले, म्याराडोना र मेसीको करियर बिल्कुलै फरक संसारमा अगाडि बढ्यो। पेलेले फुटबललाई साच्चिकै विश्वव्यापी खेल बनाउन मद्दत गरे। म्याराडोना अर्जेन्टिनाको इतिहासको उतारचढावपूर्ण कालखण्डमा खेल, राजनीति र संस्कृतिको प्रतीक बने। अर्कोतर्फ, मेसीले आफ्नो विरासत यस्तो युगमा बनाए, जसमा विश्वव्यापी, खेल विज्ञान र लगातार मिडियाको उपस्थितिको गहिरो प्रभाव रह्यो।

    यी तीनै जना खेलाडीले यस्तो खेलमा भाग लिए, जसमा समयसँगै ठूलो परिवर्तन आयो। उनीहरूले बिल्कुलै फरक परिस्थिति, तालिकाहरू, चुनौतीहरू र अपेक्षाहरूको सामना गरे। अन्ततः यो कुरा यसमा निर्भर गर्दछ कि तपाईंका लागि सबैभन्दा बढी महत्व  के कुराले राख्छ- प्रतिभा, उपलब्धिहरू, प्रभाव, लामो करियर वा सांस्कृतिक असर।

    यही कारण हो कि यो बहस सायद कहिल्यै समाप्त हुने छैन। र, फुटबलको यो सबैभन्दा ठूलो बहस  पुस्तौं पुस्तासम्म जारी रहनेछ।

    (बिबिसी ब्राजिलबाट साभार)

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend