काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने अवधारणामा सरकार र सत्तारूढ दल पूर्ण रूपमा स्पष्ट रहेको भन्दै विदेशमा रहेका नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी भित्र्याउन आग्रह गरेका छन्।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीहरू (एनआरएनए)नेपालको आर्थिक विकास र लगानी विस्तारका वास्तविक सद्भावना दूत भएको बताए।
सरकारले गैरआवासीय नेपालीहरूको पूँजी र सीपलाई नेपाल भित्र्याउन विभिन्न नीतिगत सुधार गरेको जानकारी गराउँदै अर्थमन्त्रीले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारिएको बताए।
‘तपाईंहरूले कमाएको वैध पूँजी र विदेशी लगानी नेपाल भित्र्याउन डायस्पोरा नै सबैभन्दा ठूलो सहजकर्ता हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा गरिएको लगानीको प्रतिफल (लाभांश, नाफा) फिर्ता लैजान सरकारले पूर्ण रूपमा सहजीकरण गर्नेछ। यसका लागि सरकारी खाताभन्दा बाहिरबाट समेत अर्थतन्त्रको पुनरुत्थानका प्रयासहरू भइरहेका छन्।’
उनले अस्ट्रेलियामा रहेका उद्यमीहरूलाई थप कस्ता नीतिगत सहजीकरण आवश्यक छ, त्यसबारे स्पष्ट सुझाव दिनसमेत आह्वान गरे।
अर्थतन्त्रको दिशा मोड्दै सरकारः सुधारको सुनौलो सुरुवातको दाबी
सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै उनले बजेटमार्फत कर, राजस्व र बजेट वितरण प्रणालीमा व्यापक सुधार गरिएको दाबी गरे। मेरिटोक्रेसी, उच्च नैतिक नेतृत्व, भ्रष्टाचारप्रति शून्य सहनशीलता र आर्थिक राजकाजको सुधारमार्फत पछिल्लो एक दशककै उत्कृष्ट आर्थिक पुनरुत्थानको सुरुवात गरिएको उनको भनाइ थियो।
'उच्च इमानदारीका साथ सुशासन कायम गर्दै सरकारी सेवा प्रवाहलाई सहज बनाउन र शिथिल बनेको अर्थतन्त्रको जहाज मोड्न हामी सफल भएका छौँ,' उनले भने।
नेपालमा बनेको नयाँ राजनीतिक वातावरण र सुशासनको जगमा टेकेर आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न उनले सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई अपिल गरे।


