घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा, उत्तरी गोरखाका १५ हजार नागरिकले भरपर्दो विद्युत् पाउने

घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा, उत्तरी गोरखाका १५ हजार नागरिकले भरपर्दो विद्युत् पाउने

ट्याक्स खबर
मंगलवार, श्रावण १९ २०८३
ट्याक्स खबर
मंगलवार, श्रावण १९ २०८३
  • images

    गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज गरिएको छ। लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वेसम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको छ।

    नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा यो आयोजना निर्माण गरिएको हो।

    यस आयोजनाअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दीलगायत विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ केभी प्रसारण लाइन, ११ केभी फिडर तथा ४०० भोल्टका एलटी वितरण लाइन निर्माण गर्ने कार्यक्रम रहेको थियो।

    नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले लामो समयदेखि स्थानीयस्तरमा उत्पन्न अवरोधका कारण सञ्चालनमा आउन नसकेको सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका नागरिकले ठूलो लाभ प्राप्त गर्ने बताए।

    उनका अनुसार लामो समयदेखि स्थानीय अवरोधका कारण रोकिएको यो सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका करिब १५ हजार नागरिकले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन्। साथै, यस क्षेत्रमा निर्माणाधीन बारपाक–दरौंदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् पनि यही सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिनेछ। 

    भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले घ्याम्पेसाल सबस्टेसन सञ्चालनसँगै उत्तरी गोरखामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवाको लामो समयदेखिको अपेक्षा पूरा भएको बताए।

    उनका अनुसार सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि गोरखाको उत्तरी भेगका बासिन्दाले नियमित र गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउनेछन्। साथै, गोरखा बजार सबस्टेसनमा अत्यधिक लोडका कारण पटक–पटक लाइन अवरुद्ध हुने समस्या पनि उल्लेखनीय रूपमा न्यून हुने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend