काठमाडौँ। सहसचिव कमलप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल प्रशासन सेवाको सचिव पदमा बढुवा गर्दै बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भट्टराईलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए।
भट्टराई यसअघि नै बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा थिए। अब सचिवमा बढुवासँगै उनले प्रदेशको प्रमुख सचिवका रूपमा पूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
सचिव बढुवा सिफारिस समितिले गत साउन २८ गते नेपाल प्रशासन सेवाको सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो। समितिले भट्टराईसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे र एसियाली विकास बैंक (एडिबी)का वैकल्पिक कार्यकारी निर्देशक श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको थियो।
लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको नेतृत्वमा रहेको समितिले गरेको सिफारिसमा भट्टराई पहिलो नम्बरमा थिए।


