काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री शाहले आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने समय देशको अर्थतन्त्र, राजस्व प्रशासन, निजी क्षेत्रको अवस्था तथा सरकारका आर्थिक निर्णय का दृष्टिले पनि महत्वपूर्ण रहनेछ। विशेषगरी आर्थिक तथा करसम्बन्धी विषयमा सरकारले अघि बढाइरहेका काम र निर्णयमा अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुनेछ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको विदेश भ्रमण अवधिभर सरकारको नियमित प्रशासनिक तथा कार्यकारी कामकारबाही कार्यवाहक प्रधानमन्त्री वाग्लेको नेतृत्वमा अघि बढ्नेछ।


