काठमाडौं । नयाँ अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणगरेलगत्तै उनले आफ्नो पहिलो निर्णयमा टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।
उनले जेनजी आन्दोलनका कारण सरकारी भवन र संरचनामा भएको क्षति पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले पूर्वतयारी बिना अघि बढाइएका टुक्रे आयोजना तत्काल रोकिने बताएका हुन्।
खनालका अनुसार अबको प्राथमिकता करबाट उठेको रकमको सही सदुपयोग, युवाको माग सम्बोधन, आसन्न निर्वाचनका लागि बजेटको व्यवस्था र पुनर्निर्माण हो । उनले अनावश्यक खर्च कटौती गर्नुपर्ने भन्दै तत्कालका लागि मन्त्रालयमा नयाँ सवारीसाधन नकिन्ने घोषणा समेत गरे ।
अर्थमन्त्री खनालले आगामी ६ महिनाभित्रै निर्वाचन हुने भएकाले सीमित समयलाई प्रभावकारी रुपमा प्रयोग गर्दै जनताको प्राथमिकता पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।


