काठमाडौँ । सञ्चारमन्त्री जगदीश खरेलले महँगो रोलेक्स घडी लगाएको चर्चा चलिरहँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई प्राप्त रोलेक्स घडी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
शिक्षामन्त्री पुनले किताब बेच्दै गर्दा प्राप्त रोलेक्स घडी हिजो साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
रोलेक्स घडी सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन् । "रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनु भयो। मैले लगाएर हिँडेको भएत बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ। ३ वर्ष पहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ । तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई ।"
शिक्षामन्त्री पुनले सञ्चारमन्त्री खरेलले महँगो रोलेक्स घडी लगाएको विषयमा सामाजिक सञ्जालमा फैलिरहेका अपवाहहरू लाई लक्षित गर्दै सामाजिक सञ्जालमा पोस्ट गरि व्यङ्ग्य गरेका हुन्।


