माइतीघरमा फेरि जेनजीको धर्ना, यस्ता छन् माग

माइतीघरमा फेरि जेनजीको धर्ना, यस्ता छन् माग

ट्याक्स खबर
शुक्रवार, कार्तिक ७ २०८२
ट्याक्स खबर
शुक्रवार, कार्तिक ७ २०८२
  • images

    काठमाडौँ । जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ । जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

    उनीहरुले आफूहरू एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरूलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । 

    “सबै जिल्लामा जेनजी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेनजीको प्रतिनिधित्व हुनेछ”, जेनजी प्रतिनिधि सदिक्षा राईले भनिन्, “सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ ।” 

    उनीहरूले वर्तमान सरकार केबल नेताहरुको नभई जनता र शहीदको सपना बोकेको सरकार भएको बताए । वर्तमान सरकार जेनजी पुस्ताको पनि अभिभावक भएको र सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक सङ्कटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्त्वपूर्ण भएको उनीहरूको धारणा थियो। 

    धर्नामा सहभागी मदन कार्कीले जेनजीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेनजीहरु एकजुट हुन आह्वान गरे ।

    “मुलुकभरका सबै जेनजीहरु एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेनजी एकजुट हुन सरकारको साथ आवश्यक छ”, जेनजी आन्दोलनका घाइते समेत रहेका कार्कीले भने ।

    धर्नामा सहभागीहरूले ‘जेनजीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘शहीदहरूको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहङ्कार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवारको पनि सहभागिता थियो ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरुले धर्ना दिएका हुन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend