बाढीले बगाएको मितेरी पुल नबन्दा १५ अर्ब राजस्व गुम्यो, चिनियाँ पक्ष भन्छ- अझै एक महिना लाग्छ

बाढीले बगाएको मितेरी पुल नबन्दा १५ अर्ब राजस्व गुम्यो, चिनियाँ पक्ष भन्छ- अझै एक महिना लाग्छ

ट्याक्स खबर
सोमवार, कार्तिक १७ २०८२
ट्याक्स खबर
सोमवार, कार्तिक १७ २०८२
  • images

    रसुवा । नेपाल–चीनलाई जोड्ने रसुवागढीस्थित मितेरी पुल समयमै सञ्चालनमा आउन नसक्दा राज्यले झन्डै १५ अर्ब राजस्व गुमाएको छ। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट हुने आयात–निर्यात पूर्ण रूपमा ठप्प हुँदा रु १४ देखि १५ अर्ब राजस्व घाटा भएको हो। गत आर्थिक वर्षको यसै अवधिमा सो नाकाबाट रु १४ अर्ब भन्सार शुल्क असुली भएको उनले बताए।

    गत असार महिनामा ल्हेन्देखोलामा आएको बाढीले पुल बगाएपछि दुई देशबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल पुनःनिर्माणमा जुटेको चिनियाँ पक्षले अब एक महिनाभित्र काम सकिने जानकारी दिएको छ।

    चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन मितेरी पुलको काम अन्तिम चरणमा पुगेको छ। अवरोध सिर्जना नगरेसम्म एक महिनाभित्र पुल तयार भई सञ्चालनका लागि हस्तान्तरण गरिने जनाइएको छ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि पुल निर्माण एक महिनाभित्र सम्पन्न हुने सहमति भएको र त्यसपछि पुनः बैठक बसेर सञ्चालन मिति टुंगो लगाइने जानकारी दिए। उनले भने, “चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद पुल निर्माणलाई प्राथमिकता दिएको छ। परिस्थिति काबुभन्दा बाहिर नगेको खण्डमा एक महिनाभित्र यातायात सञ्चालन हुनेछ।”

    त्यस्तै, रसुवागढी पुग्ने स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड (१६ किमी)को मर्मत र निर्माण कार्य पनि भइरहेको तर पहिरो र नदीकटानका कारण अपेक्षा अनुसार प्रगति हुन नसकेको सडक विभागले जनाएको छ। टिमुरे र तातोपानीबीचका पाखा, लिङलिङ, कागतीवारि नजिकको भीर, घट्टेखोलाको दक्षिणी भागलगायत ठाउँमा नदीले सडक कटान गर्दा मर्मत कार्यमा ढिलाइ भएको बताइएको छ।

    जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, विपद् व्यवस्थापन समितिले सो सडकखण्डको कामलाई गुणस्तरीय र द्रुतगतिमा सम्पन्न गर्न निर्देशन दिएको छ। पुल र सडक दुबै पुनः सञ्चालनमा आएपछि रसुवागढी नाका हुँदै नेपाल–चीन व्यापार पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend