काठमाडौं। स्थायी लेखा नम्बर (प्यान) कार्ड र अन्य करसम्बन्धी सेवाहरू अब स्थानीय सरकारी निकाय (नगरपालिका वा गाउँपालिका) बाटै प्राप्त गर्न सकिने भएको छ। आन्तरिक राजस्व विभागले सोमबार यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
यसभन्दा अघि प्यान कार्डको लागि करदाताले करदाता सेवा कार्यालयमा पुग्नुपर्थ्यो। तर ती कार्यालयहरू हाल खारेज गरिएकाले स्थानीय तहबाट सेवा सञ्चालन नहुन्जेलसम्म सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयले यो सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
विभागले यसको साथै कर तिर्ने, कर चुक्ता प्रमाणपत्र लिने जस्ता सेवाहरू पनि अनलाइन मार्फत नै पाइने स्पष्टता गरेको छ। कर प्रशासनलाई करदाताको नजिक पुर्याउने र सेवाहरू प्रविधिमैत्री बनाउने नीतिअनुरूप यो कदम चालिएको विभागले बताएको छ।


