गुल्मी। रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक नियमित हवाई उडान पुनः सुरु भएको छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार लामो अन्तरालपछि निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चार दिन उडान सञ्चालन गर्न थालेको हो।
विगत पाँच महिनादेखि निगमको ट्वीनअटर जहाज बिग्रिएपछि गुल्मीमा हप्तामा केवल एक पटक बिहीबारमात्र उडान हुँदै आएको थियो। बिग्रिएको जहाज मर्मतपछि पुनः नियमित तालिका अनुसार सेवा सुरु गरिएको प्रमुख थापाले जानकारी दिए।
नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले बिहान ६:३० बजे काठमाडौँबाट र ७:३० बजे रेसुङ्गाबाट उडान भर्ने तालिका तय गरिएको छ। निगमले काठमाडौँ–गुल्मी मार्गमा यात्रु भाडा दर काठमाडौँबाट गुल्मीका लागि रु ७ हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु ७ हजार ३०० निर्धारण गरेको छ।
निगमका अनुसार रेसुङ्गा विमानस्थल क्षेत्रमा दिउँसोको समयमा हावाको तीव्रता अत्यधिक हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गरिँदै आएको छ।


