लिस्बन (पोर्चुगल)। पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल र मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली नागरिकलाई कामदार भिसाका नाममा भइरहेको ठगीबाट सचेत रहन आग्रह गरेको छ।
दूतावासले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि पोर्चुगल सरकारले यही कात्तिक ६ गते (२०२५ अक्टोबर २३) देखि उच्च दक्षता प्राप्त कामदार बाहेकका सबै श्रमिकका लागि भिसा जारी गर्न रोकेको छ। यस्तो अवस्थामा कुनै व्यक्तिले कामदार भिसाको नाममा फसाउने वा रकम असुल गर्ने गतिविधिबाट जोगिन सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
दूतावासले हाल नेपाल तथा मध्यपूर्वका देशहरूमा पोर्चुगलमा रोजगारी दिलाइदिने भन्दै गैरकानुनी रूपमा ठगी धन्दा भइरहेको जानकारी पाएको जनाएको छ। यसका लागि कुनै पनि अवैध सम्झौता वा बिचौलियासँग संलग्न नहुन नागरिकहरूलाई चेतावनी दिइएको छ।
कामदार भिसा रोकिएको वर्तमान अवस्थाले यस्तो भिसाको प्रयोगमा यहाँ प्रवेश गर्न सम्भव नहुने स्पष्ट गर्दै, दूतावासले पोर्चुगल पठाइने वा बोलाइने नाममा हुन सक्ने ठगीबाट सचेत रहन सबै नेपालीहरूलाई पुनः आग्रह गरेको छ।


