काठमाडौँ। आन्तरिक राजस्व विभागले कर दिवसको अवसर पारेर सोमबारदेखि व्यक्तिगत प्यान र कर चुक्ता प्रमाणपत्र घरबाटै अनलाइनमार्फत प्राप्त गर्न सकिने व्यवस्था लागू गर्न लागेको छ। अर्थमन्त्री रामेश्वर खनालले सोमबार विशेष कार्यक्रमका बीच यसको औपचारिक उद्घाटन गर्नेछन्।
पहिले प्यानका लागि विभागको वेबसाइटमा विवरण भरेपछि बायोमेट्रिक उपलब्ध गराउन कर कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो। तर अब राष्ट्रिय परिचयपत्रमै रहेको बायोमेट्रिक डाटालाई प्यानसँग प्रत्यक्ष लिंक गरिने भएकाले कर कार्यालय धाउनुपर्ने झन्झट हट्ने विभाग स्रोतले जनाएको छ।
अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीले तोकिएका विवरण भरेर व्यक्तिगत प्यान कार्ड घरमै बसेर प्रिन्ट गर्न सक्नेछन्।
कर चुक्ता प्रमाणपत्र (Tax Clearance) को प्रक्रियामा पनि सुधार हुँदै छ। विभागका अनुसार वार्षिक ४० लाख रुपैयाँभन्दा कम आम्दानी गर्ने र एउटामात्रै कार्यालयबाट तलब सुविधा लिने व्यक्तिले अब अनलाइनमार्फतै कर चुक्ता पाउनेछन्।
यद्यपि ४० लाखभन्दा बढी आम्दानी हुने वा एकभन्दा बढी कार्यालयबाट तलब सुविधा पाउने करदाताले भने प्रमाणपत्र लिन सम्बन्धित कर कार्यालयमा नै जानुपर्नेछ। नयाँ व्यवस्थाले सामान्य करदातालाई सहज, छिटो, पारदर्शी र कागजरहित (Paperless) भएर कर सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ।


