तुलसीपुर। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यस अवधि साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले ८९ करोड ९१ लाख ६१ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो, तर लक्ष्यको ८०.२५ प्रतिशत मात्र सङ्कलन हुन सक्यो। गत वर्ष यही अवधिमा ७० करोड ३८ लाख ५८ हजार रुपैयाँ सङ्कलन भएकाले यस वर्ष मामूली वृद्धि देखिन्छ।
कर सङ्कलन लक्ष्य पूरा हुन नसक्नुका मुख्य कारणमा करदाताबाट आयकर विवरण पेस हुने दर कमजोर हुनु, जेनजी आन्दोलनका कारण कार्यालयमा क्षति पुगेर सेवा अवरुद्ध हुनुले कर प्रशासन प्रभावित हुनु, मालपोत कार्यालयमा क्षति पुगेपछि पुँजीगत लाभकर उल्लेख्य रूपमा घट्नु र ब्याजदर घटेकाले ब्याजकर कम हुनु प्रमुख रहेको प्रमुख कर अधिकृत श्रीधर टण्डनले बताएका छन्। उनका अनुसार कार्यालय पुनःस्थापनामा धेरै समय खर्चिनु परेकाले राजस्व प्रवर्द्धन र कर अनुशासनका कार्यमा तीव्रता दिन नसकिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ३ अर्ब १४ करोड ८६ लाख रुपैयाँ राजस्व लक्ष्य लिएको थियो, तर २ अर्ब ९४ करोड २४ लाख रुपैयाँ मात्र सङ्कलन गर्न सफल भयो। यो अघिल्लो वर्षको तुलनामा ५४ करोड ६० लाख बढी भए पनि लक्ष्यअनुसारको प्रगति भने कमजोर नै रह्यो। चालु वर्ष बाँकी अवधिमा करदाता शिक्षालाई प्रभावकारी बनाउने, स्वेच्छिक कर अनुपालन बढाउने, राजस्व चुहावट र कर छली नियन्त्रण तथा बक्यौता कर असुलीलाई प्राथमिकता दिने कार्यालयले जनाएको छ।
आर्थिक ऐन २०८२ अन्तर्गत भ्याट तथा अन्तशुल्क विवरण नबुझाएका करदाता, आय विवरण पेश नगरेर कर निर्धारण भइसकेका करदाता, सामुदायिक अस्पताल–स्वास्थ्य संस्था तथा यातायातसम्बद्ध संघसंस्था लगायतका करदाताका लागि छुट सुविधा घोषणा गरिएको छ। यी छुटहरू पुस मसान्तसम्म मात्र लागू हुने भएकाले सम्बन्धित करदातालाई शीघ्र सुविधाको उपयोग गर्न कार्यालयले आग्रह गरेको छ। साथै उक्त छुटबारे जानकारी दिन उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स तथा सञ्चारमाध्यमलाई पनि समन्वयका लागि अनुरोध गरिएको छ।
राजस्व सेवा व्यवस्थित बनाउन कर भुक्तानी, कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र तथा विवरण अद्यावधिकजस्ता सबै सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराइएको छ। साथै तुलसीपुर उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर न्यूनतम शुल्कमा फाराम भरिदिने ‘करदाता सहायता कक्ष’ सञ्चालन गरिएको छ। कर भुक्तानीका लागि कार्यालयमा ग्लोबल आइएमइ बैंकको काउन्टर पनि स्थापना गरिएको छ।


