बनियानी। चालु आर्थिक वर्षका पहिलो चार महिनामा पूर्वी सीमा नाका काँकरभिट्टाबाट १६ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ भने निर्यात ८ अर्ब रुपैयाँमा सीमित भएको छ।
मेची भन्सार कार्यालयका अनुसार आव २०८२/८३ को साउनदेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब २ करोड ५ लाख ३ हजार बराबरको सामान आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १२.१२ प्रतिशत बढी हो। यस्तै, सोही अवधिमा निर्यात ४.१२ प्रतिशत घट्दै कुल रु ८ अर्ब ९६ करोड ७ लाख ३३ हजारमा सीमित भएको कार्यालयले जनाएको छ।
गत वर्षको चार महिनामा रु ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामग्री निर्यात भएको थियो।
चार महिनामा आयात–निर्यातबाट रु ५ अर्ब ४६ करोड १ लाख ९८ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। यसमध्ये आयातबाट रु ५ अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट रु १२ करोड ३४ लाख ६० हजार राजस्व प्राप्त भएको छ। समग्र राजस्व असुली गत वर्षको तुलनामा १५.६६ प्रतिशत (रु ७३ करोड ९४ लाख ७५ हजार) बढेको छ।
निर्यात हुने मुख्य वस्तुहरू : को बढ्यो, को घट्यो?
काँकरभिट्टा नाकाबाट निर्यात हुने प्रमुख १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर–बिरालोको खाना, अदुवा/सुठो, काउली, बन्दाकोभी, ब्रोकाउली तथा मुसुरो दालको निर्यात बढेको छ।
तर चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा गिरावट आएको छ।
अलैँची निर्यात दोब्बर
अलैँची निर्यात १०९.२ प्रतिशत वृद्धि भई चालु आवमा रु ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार पुगेको छ। यो गत वर्षको सोही अवधिभन्दा रु २ अर्ब ७ करोड ४१ लाख ३२ हजार धेरै हो।
चिया तथा प्लाइउड निर्यातमा ठूलो कमी
चार महिनामा रु १ अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ३७ प्रतिशत कम हो।
प्लाइउड निर्यातमा झनै ठूलो गिरावट देखिएको छ। गत वर्ष कात्तिक मसान्तसम्म रु १ अर्ब २५ करोड ७२ लाख ५९ हजारको प्लाइउड निर्यात भए पनि यस वर्ष सोही अवधिमा रु ५९ करोड ५० लाख १८ हजार मात्र निर्यात भयो — ५२.७ प्रतिशत कमी।
भेनियर सिट, पेट फुड र अन्य बस्तुहरू
भेनियर सिट निर्यात १३५.८ प्रतिशत वृद्धि
गत वर्ष रु १६ करोड ४५ लाख १२ हजार, यो वर्ष रु ३८ करोड ६२ लाख ६८ हजार।
कुकुर/बिरालोको खाना ३३ प्रतिशत वृद्धि
यस वर्ष रु ३७ करोड ९९ लाख १२ हजारको निर्यात।
अम्रिसो निर्यात २३.९ प्रतिशत गिरावट
यस वर्ष रु २६ करोड २५ लाख ६३ हजार।
अदुवा/सुठो निर्यात ३.२ प्रतिशत वृद्धि
यस वर्ष रु २४ करोड २४ लाख १६ हजार।
काउली, बन्दाकोभी, ब्रोकाउली ३६.१ प्रतिशत वृद्धि
कुल रु ११ करोड ३१ लाख ९१ हजारको निर्यात।
मसुरो दाल निर्यातमा ४८१ प्रतिशत वृद्धि
मसुरो दालको निर्यातमा आश्चर्यजनक वृद्धि भएको छ।
गत वर्ष रु १ करोड ५७ लाख १३ हजारको मुसुरो दाल निर्यात भए पनि यस वर्ष सोही अवधिमा यो मूल्य रु ९ करोड १२ लाख ८७ हजार पुगेको छ — ४८१ प्रतिशत वृद्धि।
फलामे पाता निर्यातमा ९७ प्रतिशत गिरावट
चालु आवमा रु ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र फलामे पाता निर्यात भएको छ, जुन गत वर्षको तुलनामा ९७.३ प्रतिशत कम हो।


