काठमाडौं । आन्तरिक राजस्व विभागले राजस्व कार्यालयबाट प्रवाह हुने सेवासँग सम्बन्धित कुनै पनि गुनासो भए सिधै सम्पर्क गर्न आग्रह गरेको छ। विभागले गुनासो तत्काल सम्बोधन गर्न हटलाइन नम्बर र इमेल ठेगानाको व्यवस्था गरेको जनाएको छ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, “यस विभाग तथा अन्तर्गतका निकायहरूबाट प्रवाह हुने सेवासँग सम्बन्धित कुनै प्रकारको गुनासो भएमा त्यसलाई तत्काल सम्बोधन गर्न हटलाइन नम्बर र इमेल ठेगानाको व्यवस्था गरिएको छ। सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको हो।”
विभागका अनुसार सेवा सम्बन्धी गुनासोका लागि हटलाइन नम्बर ९७६२११९७५९ मा सम्पर्क गर्न सकिनेछ भने इमेलमार्फत gunaso@ird.gov.npमा गुनासो पठाउन सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, एकीकृत कर प्रणाली (Integrated Tax System–ITS) सँग सम्बन्धित प्राविधिक समस्या आएमा पनि छुट्टै हटलाइन नम्बर उपलब्ध गराइएको छ। सूचनामा भनिएको छ, “एकीकृत कर प्रणालीसँग सम्बन्धित कुनै प्राविधिक समस्या भएमा तत्काल समाधानका लागि कार्यालय समयभित्र तोकिएको नम्बरमा सम्पर्क गर्न सकिनेछ।”
विभागका अनुसार ITS सम्बन्धी प्राविधिक गुनासोका लागि मोबाइल नम्बर ९७६२११८२५८ मा सम्पर्क गर्न सकिनेछ।



