वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै रु ३९ अर्ब ९७ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशतले बढी हो, जसअनुसार निर्यात मूल्यमा रु १८ अर्ब ७९ करोडको वृद्धि देखिएको छ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने वीरगञ्ज नाकाबाट रु २१ अर्ब १८ करोड बराबरका वस्तु विदेशी मुलुकमा निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवमा यस नाकाबाट हुने निर्यातमा उल्लेखनीय सुधार आएको छ।
भन्सार कार्यालयका तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य बराबरको प्रशोधित भटमास तेल निर्यात भएको छ। त्यस्तै रु ३ अर्ब ७ करोड बराबरको फलफूलको जुस, रु २ अर्ब ८७ करोड बराबरको प्रशोधित सूर्यमुखी तेल र रु १ अर्ब ९७ करोड बराबरको प्रशोधित पाम तेल विदेश पठाइएको छ।
यसैगरी रु १ अर्ब ५० करोड मूल्य बराबरका विभिन्न किसिमका कपडासमेत निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।


