काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) आयातसम्बन्धी सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिँदै आफूले दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाणित भए अर्थमन्त्री पद, राजनीति र सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेले आफ्नो नैतिक छविलाई नियोजित रूपमा धूमिल पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको दाबी गर्दै भावुक रूपमा प्रतिवाद गरे।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। अर्थमन्त्री मात्र होइन, राजनीति र सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ उनले भने, ‘यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिज्ञमा पनि छ कि छैन भन्ने प्रश्न छ।’
यसैबीच, अर्थ मन्त्रालयले विद्युतीय गाडी आयातसम्बन्धी तथ्यांकमा सूचना चुहावट भएको भन्ने आरोपप्रति स्पष्टीकरण दिएको छ।


