अमेरिका र इरानबीच सम्झौताः ३ महिना लामो युद्ध अन्त्य हुने, विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

अमेरिका र इरानबीच सम्झौताः ३ महिना लामो युद्ध अन्त्य हुने, विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

ट्याक्स खबर
सोमवार, आषाढ १ २०८३
ट्याक्स खबर
सोमवार, आषाढ १ २०८३
  • images

    काठमाडौं। झन्डै साढे तीन महिनादेखि युद्धरत अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा प्रारम्भिक सहमति भएको छ।

    महिनौँको तनाव र छिटपुट आक्रमणका बीच दुई देशबीच आइतबार युद्ध रोक्ने प्रारम्भिक सम्झौता ९एमओयू० भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग प्रारम्भिक सम्झौता भएको पुष्टि गरेका छन् भने इरानी अधिकारीहरू र समाचार संस्था रोयटर्सले पनि यसको स्वागत गरेका छन्। यो सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर हुने कार्यतालिका छ।

    यो ऐतिहासिक सहमति गराउन सुरुदेखि नै मध्यस्थता गरिरहेका पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका अनुसार लेबनानसहित सबै मोर्चामा हुँदै आएका सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सोमबार रातिदेखि नै लेबनानसहित सबै मोर्चामा युद्ध र सैन्य गतिविधि स्थायी रूपमा रोकिने घोषणा गरेको छ। यद्यपि, अमेरिका–इरान वार्तामा सहभागी नभएको बताउँदै आएको इसराइलले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

    इरानी समाचार संस्था मेहर न्युजका अनुसार प्रारम्भिक सम्झौतापत्र १४ बुँदाको रहेको छ। वार्ता टोली निकट स्रोतहरूलाई उद्धृत गर्दै एपी र रोयटर्सले सार्वजनिक गरेका  छन्।

    अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र हटाउने तथा इरान वरपर तैनाथ अमेरिकी सैन्य बलहरू फिर्ता गर्ने भएको छ भने विश्वभरिका लागि तेल र प्राकृतिक ग्यास ढुवानीको प्रमुख मार्ग मानिने स्ट्रेट अफ होर्मुज ३० दिनभित्र पुनः खुलाइने र यसको व्यवस्थापन स्थायी रूपमा निःशुल्क र इरानको मातहतमा हुने छ।

    इरानको तेल तथा पेट्रोकेमिकल निर्यातमाथिको प्रतिबन्ध निलम्बन हुने, रोक्का वित्तीय स्रोतमा इरानले पूर्ण पहुँच पाउने तथा अमेरिका र उसका सहयोगीहरूले कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण योजना प्रस्तुत गर्ने छ।
    त्यस्तै, आणविक मुद्दा समाधानका लागि ६० दिनको विशेष वार्ता अवधि तोकिएको छ, जसअन्तर्गत इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता पुनः पुष्टि गर्नेछ। यसै अवधिमा इरानको रोक्का रहेको २४ अर्ब डलरमध्ये आधा रकम वार्ता सुरु हुनुअघि र बाँकी आधा ६० दिनभित्र उपलब्ध गराइनेछ।

    युद्ध अन्त्यको समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा कच्चा तेलको मूल्य तीव्र गतिमा ओरालो लागेको छ। युद्ध चर्किएर प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिरहेका बजार विश्लेषकहरू यो नयाँ घटनाक्रमपछि तरंगित भएका छन्।

    कच्चा तेलको मूल्यमा आएको यो गिरावट गत मार्च महिना यताकै सबैभन्दा न्यून स्तर हो। यसले विश्वभर बढ्दै गएको उपभोक्ता महँगी र उत्पादनमूलक उद्योगहरूको इन्धन लागतमा तत्कालका लागि ठूलो राहत दिने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने औपचारिक हस्ताक्षर बिना कुनै अवरोध सम्पन्न भएमा कच्चा तेलको मूल्य अझ घटेर प्रति ब्यारेल ७० देखि ७५ डलरको स्थिर दायरामा आउन सक्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend