निजी अस्पताल, बैंक र वित्तीय संस्थामा श्रम कानुनको गम्भीर उल्लंघन, विभागले दियो कारबाहीको चेतावनी

निजी अस्पताल, बैंक र वित्तीय संस्थामा श्रम कानुनको गम्भीर उल्लंघन, विभागले दियो कारबाहीको चेतावनी

ट्याक्स खबर
बिहिवार, आषाढ ११ २०८३
ट्याक्स खबर
बिहिवार, आषाढ ११ २०८३
  • images

    काठमाडौँ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थाहरूमा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने प्रतिष्ठानहरूलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो।

    विभागका प्रवक्ता ई मणिनाथ गोपद्वारा जारी विज्ञप्ति अनुसार अनुगमनका क्रममा निजी अस्पतालमा चरम शोषण पाइएको छ। कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा आपूर्ति गरिएका श्रमिकहरूलाई ओभर टाइम (अतिरिक्त समय) बापतको पारिश्रमिक नदिइएको, लगातार लामो समय काममा लगाउने गरिएको र सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाइएको छ।
    त्यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि उस्तै समस्या छ। बैंक तथा वित्तीय संस्थाहरूमा आपूर्ति गरिएका सुरक्षाकर्मी र श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक नदिने, धेरै घण्टा काम लगाउने र चाडपर्व खर्च समेत उपलब्ध नगराएको पाइएको छ।

    विभागले यस्ता कैफियत देखिएका संस्थाहरूलाई तोकिएको समयभित्र सुधार गर्न निर्देशन दिँदै कानुनी व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ।

    विभागले तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२ साल साउनदेखि २०८३ साल जेठ मसान्तसम्म ३ हजार २ सय ६७ वटा प्रतिष्ठानहरूको श्रम निरीक्षण गरिएको जनाएको छ। 
    श्रम नियमावली २०७५ को नियम ५६ बमोजिम प्रत्येक प्रतिष्ठानले प्रत्येक वर्षको पुस मसान्तभित्र अनिवार्य रूपमा श्रम अडिट गराउनुपर्ने कानुनी व्यवस्था छ। त्यस्तै, श्रम ऐन २०७४ को दफा ५९ अनुसार इजाजत प्राप्त कम्पनीले सुरक्षा, सरसफाइ, व्यावसायिक सहयोग र घरेलु सहयोग जस्ता तोकिएका सेवामा मात्र श्रमिक आपूर्ति गर्न पाउने व्यवस्था रहेको छ।

    विभागले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ का प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सबै प्रतिष्ठानहरूलाई अपिल गरेको छ। प्रचलित कानुनी व्यवस्था पालना नगरेमा कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend