काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कर नीति र कार्यशैलीका कारण बजारले पूर्ण रूपमा आत्मविश्वास गुमाएको आरोप लगाएका छन्।
सरकारको १०० दिनको समीक्षा गर्दै सभापति थापाले कर प्रणालीमा गरिएका अव्यावहारिक फेरबदल र व्यवसायीमाथि सिर्जना गरिएको भयको वातावरणले अर्थतन्त्र संकटतर्फ धकेलिएको दाबी गरे।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्मेलनमा बोल्दै थापाले सरकारको १०० दिनको नीति, करको अवस्था र समग्र अर्थतन्त्रबारे धारणा राखे।
सरकारले न्यून आय भएका नागरिकलाई करमा राहत दिएको भनी गरेको प्रचारलाई थापाले गणितीय रूपमा खण्डन गरे।
‘अहिले १० लाख रूपैयाँभन्दा कम आय भएका मान्छेले बडो राहत पायो भनिएको छ,’ थापाले भने, ‘तर हिसाब गरेर हेर्दा २० हजार रूपैयाँ कर छुट पाएको मान्छेले अन्य व्यवस्थापकीय र प्रक्रियागत झन्झटका कारण उल्टै २०-२५ हजार रूपैयाँ अरू अतिरिक्त खर्च गर्नुपर्ने स्थिति बनेको छ। यसले न सानो आय भएको, न मध्यम आय भएको र न व्यापक रूपमा पुँजी परिचालन गर्न सक्ने मान्छे कसैमा पनि आत्मविश्वास जगाउन सकेन।’
विदेशी भूमिका नेपाली श्रमिकले रगतपसिना बगाएर पठाएको रेमिट्यान्सका कारण देशमा वैदेशिक मुद्राको सञ्चिति बलियो रहेको र बैंकहरूमा इतिहासकै धेरै पैसा (तरलता) थुप्रिएको थापाले उल्लेख गरे।
‘नेपालको इतिहासमा बैंकहरूमा यति धेरै पैसा मौज्दात सायद कहिल्यै थिएन होला। पहिला ब्याजदर दोहोरो अंकमा पुग्दा महँगो भएर कर्जा लिएनन् भनियो, अहिले ब्याजदर निकै तल आइसक्यो, तर खोइ त कर्जा प्रवाह भएको?,’ उनले प्रश्न गरे, ‘ब्याज सस्तो हुँदा पनि कर्जा लिन कोही जाँदैन, किनभने बजारको आत्मविश्वास शून्य छ ।’
नयाँ सरकारलाई नागरिकको ठुलो मत र ५ वर्षको स्थिर अवधिको अनुकूलता हुँदाहुँदै पनि बजार जगाउने सुवर्ण अवसर गुमाएको थापाको टिप्पणी छ।
‘सरकारले व्यवसायीहरूलाई जसरी जथाभाबी समात्ने, उठाउने र थुन्ने काम गरिरहेको छ, त्यसले निजी क्षेत्रमा काम गर्ने सबै मान्छे ‘ठग’ हुन् भन्ने भाष्य निर्माण गरिँदै छ,’ थापाले आक्रोश पोखे, ‘जताततै भयको वातावरण छ, सबै त्रसित छन्, उद्योगी(व्यवसायीको सातो गएको छ। यस्तो डरको वातावरणमा कुन चाहिँ मान्छेले बैंकबाट कर्जा लिएर नयाँ व्यवसाय सुरु गर्ने हिम्मत गर्छ?’
अहिले बजारमा देखिएका केही नयाँ होटल वा उद्योगहरू वर्षौँ अघिदेखि प्रक्रियामा रहेकाले मात्रै खुलेको तर नयाँ लगानी ठप्प भएको उनले बताए।


