काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक दिन बाँकी रहँदा सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँको ८२.७६ प्रतिशत हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गतेसम्मको तथ्यांकले गत वर्षको तुलनामा राजस्व संकलनमा उल्लेखनीय सुधार देखाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजस्व उठाएको थियो। यसअनुसार चालु वर्षमा राजस्व संकलन ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ अर्थात् ७.४० प्रतिशतले बढेको हो।
संकलित कुल राजस्वमध्ये कर राजस्वको हिस्सा सबैभन्दा ठूलो रहेको छ। असार ३१ गतेसम्म सरकारले ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व उठाएको छ, जुन लक्ष्यको ८३.४३ प्रतिशत हो।
त्यस्तै गैरकर राजस्व १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७६.९९ प्रतिशत हो।
गत वर्षको तुलनामा कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले वृद्धि भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
वैदेशिक अनुदान प्राप्तिमा पनि सुधार देखिएको छ। सरकारले चालु वर्ष ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ५८.५० प्रतिशत अनुदान प्राप्त गरेको छ। यो गत वर्षको सोही अवधिको २३ अर्ब २० करोड १६ लाख रुपैयाँको तुलनामा ३४.७५ प्रतिशत बढी हो।
आर्थिक वर्षको अन्त्यतिर राजस्व संकलन तीव्र हुने परम्पराअनुसार असार ३१ गते मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व उठाएको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजस्व रहेको छ।


