काठमाडौं। काठमाडौंको जमल क्षेत्रमा वर्षेनि दोहोरिने डुबानको मुख्य कारण ढल प्रणालीको क्षमता असन्तुलित रहेको प्राविधिक प्रतिवेदनले औँल्याएको छ।
चारैतिरबाट ठूलो परिमाणमा वर्षाको पानी र ढल जमल चोकमा आइपुग्ने तर त्यसलाई बाहिर लैजाने निकासको क्षमता भित्रिने पानीको तुलनामा करिब एक तिहाइ मात्रै भएकाले सामान्य वर्षामै पनि क्षेत्र जलमग्न हुने गरेको निष्कर्ष प्रतिवेदनले निकालेको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनपछि गठित प्राविधिक समितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा जमलको डुबानलाई पूर्वाधारको ‘बोटलनेक’ समस्या भनेर व्याख्या गरिएको छ।
प्रतिवेदनअनुसार जमल चोकमा ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत पानी आइपुग्छ। यी सबैको संयुक्त प्रवाह क्षेत्रफल ०.८२६ वर्गमिटर छ, जुन करिब १२० सेन्टिमिटर व्यासको पाइप बराबरको क्षमता हो।
तर, उक्त सम्पूर्ण पानी बाहिर निकाल्न भने ६० सेन्टिमिटर व्यासको एउटा मात्र ढल प्रयोग भइरहेको छ, जसको निकास क्षमता ०.२८३ वर्गमिटर मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ। यसरी भित्रिने पानीको तुलनामा बाहिरिने ढलको क्षमता करिब एक–तिहाइ मात्रै भएकाले पानी सडकमै थुनिने र डुबान हुने गरेको अध्ययनले देखाएको छ।
प्रतिवेदनले अर्को समस्या पनि औँल्याएको छ। निकासको अन्तिम बिन्दु र टुकुचा खोलाको पानीको सतहबीच उचाइको अन्तर निकै कम भएकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पसेर निकास अवरुद्ध हुने गरेको निष्कर्ष निकालिएको छ।
तीन चरणमा समाधानको प्रस्ताव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले डुबान समाधानका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका उपाय सिफारिस गरेको छ।
तत्कालका उपाय अन्तर्गत जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण गर्ने, ढलका पाइप, म्यानहोल र क्याचपिटमा थुप्रिएको बालुवा, लेदो र फोहोर नियमित सफा गर्ने तथा टुकुचा खोलाको पिँध सफा गरी बहाव सहज बनाउने सुझाव दिइएको छ।
मध्यकालीन योजना अन्तर्गत हालको ६० सेन्टिमिटरको निकास पाइप हटाएर ठूलो क्षमताको ‘ट्रंक लाइन’ निर्माण गर्ने, जमल चोकमा पानीको चाप घटाउन डाइभर्सन प्रणाली विकास गर्ने तथा जनप्रशासन क्याम्पस, उडल्याण्ड होटल, महेन्द्र शालिकसम्मको पुरानो ढल प्रणाली पुनः सञ्चालनको अध्ययन गर्न सिफारिस गरिएको छ। साथै त्रिचन्द्र बहुमुखी क्याम्पस, होटल, सपिङ मल, विद्यालय तथा निजी जग्गामा वर्षाको पानी पुनःभरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली लागू गर्न पनि सुझाव दिइएको छ।
दीर्घकालीन समाधान का रूपमा जमल क्षेत्रका भवनमा ‘रेन वाटर हार्भेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ प्रणाली अनिवार्य गर्ने, वर्षाको पानीका लागि छुट्टै ‘स्टोर्म वाटर ड्रेनेज’ निर्माण गर्ने तथा प्रशोधन गरिएको पानीलाई रानीपोखरीजस्ता जलाशयमा पुनःभरण गर्ने व्यवस्था विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, सन् २०१८ मा काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले तयार पारेको ‘डिटेल्ड डिजाइन अफ सिवर रिह्याबिलिटेसन इन द कोर सिटी एरिया अफ काठमाडौं मेट्रोपोलिटन सिटी’ लाई डिभिजन सडक कार्यालयसँगको समन्वयमा पुनः अध्ययन, आवश्यक परिमार्जन र कार्यान्वयन गर्न सके जमलको डुबान समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ।


