काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका वाणिज्य बैंकहरुको विगत पाँच आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८-७९ देखि २०८२-८३ सम्मको क्रेडिट रेटिङ परिवर्तनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ ।
समग्र अर्थतन्त्रमा देखिएको सुस्तता, निष्क्रिय कर्जामा भएको वृद्धि र असुलीमा परेको चापका कारण अधिकांश बैंकहरुको साख प्रभावित भएको प्रतिवेदनले देखाएको छ ।
५ वर्षको तथ्याङ्क अनुसार सीमित बैंकहरुले मात्र उच्च साख जोगाएका छन् भने धेरैजसोको रेटिङ स्थिर वा खस्किँदो क्रममा रहेको छ ।
सर्वोच्च साख र उच्च सुरक्षा कायम राख्दै विदेशी लगानी रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचै वर्ष शीर्ष स्थानको ‘टीआर एएए’ रेटिङ जोगाउन सफल भएको छ । यस्तै, नेपाल एसबीआई बैंकले पनि आफ्नो वित्तीय मजबुती दर्साउने ‘टीआर एए’ रेटिङ निरन्तर कायम राखेको छ ।
एभरेस्ट बैंकले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ मा ‘आइआर एए’ पाएको भए पनि आव २०८२-८३ मा भने यसको रेटिङ प्रक्रिया फिर्ता भएको छ ।
मध्यम–उच्च साख (‘ए’ श्रेणी) तर्फ नबिल बैंकको साख आव २०७८-७९ को ‘टीआर एए‘बाट घटेर आव २०८२-८३ मा ‘टीआर ए’ मा झरेको छ ।
नेपाल बैंक लिमिटेडले निरन्तर ‘आइआर ए’ रेटिङ कायम राख्दा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक दुवैको रेटिङ ‘आइआर ए‘ कायम भएको छ ।
कृषि विकास बैंकको रेटिङ भने आव २०८२-८३ मा ‘आइआर ए प्लस’ पुगेर फिर्ता लिइएको छ।
कर्जाको गुणस्तरमा आएको ह्रासका कारण ‘बीबीबी’ र ‘बीबी’ श्रेणीमा रहेका बैंकहरुको साखमा उच्च दबाब देखिएको छ।
सिटिजन्स बैंक आव २०८२-८३ मा खस्किएर ‘आइआर बीबीबी’ मा झरेको छ भने कुमारी बैंक र प्रभु बैंकको साखमा निरन्तर गिरावट आएको छ ।


